
९ वैशाख, काठमाडौं । इरानी अधिकारीहरुले अमेरिकाले लम्ब्याएको युद्धविरामको पालना हुनेमा शंका व्यक्त गरेका छन्। इरानी संसदका सभामुख मोहम्मद बगर गालिबाफका सल्लाहकार महदी मोहम्मदीले अमेरिकाले अचानक आक्रमण गर्न सक्ने भन्दै युद्धविरामको पालना हुनेमा संशय व्यक्त गरेका छन्। उनले युद्धविराम बढाउनुको कुनै औचित्य नभएको बताएका छन्।
मोहम्मदीले ट्विटरमा लेखेका छन्, ‘हार्ने पक्षले शर्तहरू तोक्न सक्दैन। घेराबन्दी जारी राख्नु बमबारीबाट फरक होइन। यसको जवाफ सैन्य कारबाहीबाट दिनुपर्छ।’ उनले अचानक हमलाको तयारीको लागि अमेरिकी राष्ट्रपतिले युद्धविरामको अवधि बढाएको र इरानले आक्रमण गर्ने समय अब आएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २२ अप्रिलमा युद्धविरामको समय अवधि अनिश्चितकालका लागि लम्ब्याएको घोषणा गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिल्ड मार्शल आसिम मुनीरको आग्रहअनुसार समय बढाइएको उनको दाबी छ।






