Skip to main content

चीनले विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन लेखा प्रणाली सार्वजनिक गर्‍यो

चिनियाँ एकेडेमी अफ साइन्सेजले विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन लेखा प्रणाली सार्वजनिक गरेको छ। यस प्रणालीले वस्तु उपभोग गर्ने देशलाई उत्सर्जनमा बढी जिम्मेवार ठहर्याउने नयाँ दृष्टिकोण ल्याएको छ। सन् २०२२ मा चीनको उत्सर्जन १७.७ प्रतिशतले कम र अमेरिकाको १५.२ प्रतिशतले बढी देखिएको छ।

साङ्घाई एडभान्स्ड रिसर्च इन्स्टिच्युटले विकास गरेको यस नयाँ मोडलले परम्परागत दृष्टिकोणभन्दा फरक तरिका अपनाउँदै वस्तु उत्पादन गर्ने देशभन्दा ती वस्तु उपभोग गर्ने देशलाई उत्सर्जनको बढी जिम्मेवार मान्ने गुण ल्याएको छ। परम्परागत मोडलले बिजुली गृह वा कारखाना जस्ता उत्पादन केन्द्रबाट हुने कुल उत्सर्जनलाई आधार बनाएर देशहरूको जिम्मेवारी निर्धारण गर्थे, जसले चीनजस्ता ठूला उत्पादक राष्ट्रको उत्सर्जन बढी देखाउँथ्यो।

तर, नयाँ मोडलअनुसार उपभोक्ता केन्द्रित गणना गर्दा सन् २०२२ मा चीनको हरितगृह ग्यास उत्सर्जन संयुक्त राष्ट्रसंघको प्रचलित पद्धतिसँग तुलना गर्दा १७.७ प्रतिशतले कम देखिएको छ। त्यसैगरी, धेरै उपभोग गर्ने राष्ट्र संयुक्त राज्य अमेरिकाको कुल उत्सर्जन यस पद्धतिअनुसार १५.२ प्रतिशतले बढी देखिएको छ। गत ८ अप्रिलमा सार्वजनिक गरिएको यस ‘साइन्सवन-युहेंग कार्बन अकाउन्टिङ लार्ज मोडल’ जलवायु परिवर्तन क्षेत्रमा महत्वपूर्ण परिवर्तनको संकेत मानिएको छ।

यस मोडलका प्रमुख वैज्ञानिक तथा इन्स्टिच्युटका उपाध्यक्ष वेई वेईका अनुसार, यसले कार्बन उत्सर्जन बुझ्ने र व्यवस्थापन गर्ने तरिकामा मौलिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। चिनियाँ एकेडेमी अफ साइन्सेजले दाबी गरेको छ कि यो प्रणालीले विश्वव्यापी जलवायु सुशासन थप सटिक बनाउन र विभिन्न देशहरूबीच उत्सर्जनको जिम्मेवारी बाँडफाँटमा यथार्थपरक र वैज्ञानिक आधार तयार पार्न मद्दत गर्नेछ।