Skip to main content

अन्धकारलाई चिर्दै उज्यालो सृजना गरिरहेका विकटलाल चौधरी

१० वैशाख, घोडाघोडी (कैलाली) । जीवनमा उज्यालो देख्न सधैं आँखाको आवश्यकता नपर्न सक्छ, कहिलेकाहीँ आत्मविश्वास, मिहिनेत र दृढ इच्छाशक्तिले पनि बाटो देखाउँछन् । बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय विकटलाल चौधरी यसको जीवित उदाहरण हुन् । जन्मदेखि दृष्टिविहीन भएका उनले अँध्यारो भविष्यलाई आफ्नो जीवनबाट हटाएर उज्यालोको दिशामा पाइला टेकेका छन् । उनले आफू मात्र नभएर हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा आफैलाई समर्पित गरे । विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेशामा संलग्न चौधरीले १५ वर्षभन्दा बढी समय कक्षाकोठामा बिताइसकेका छन्। उनकी लागि विद्यालय जागिर मात्रै होइन, जीवनको लक्ष्य हो। उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीहरूको क्षमता, सम्भावना र भविष्यलाई आत्मदृष्टिले हेर्छन्।

उनले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रहरूमा स्थापित छन्। गाउँबाट पढेका ती विद्यार्थीहरू सफल देख्दा उनलाई उनीहरूको संघर्ष सार्थक लागेको छ। उनी भन्छन्, ‘मेरो सानो ज्ञानबाट कसैको जीवनमा परिवर्तन आइसक्यो भने त्यसबाट ठूलो सुख अरू के हुँदो हो।’ तर उनको जीवन यात्रा सहज नभएको थियो। सानै उमेरमा बुबा–आमा गुमाउनु परेको थियो। पारिवारिक सन्दर्भ कमजोर हुँदै गयो। दृष्टिहीन हुँदा दैनिक जीवन झन् कठिन भयो। उनका दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको साथमा बाँचेका छन्।

बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि स्मृतिमा ताजा छन्। गाउँमा धेरैले उनलाई ‘अन्धो’ भनेर अपशब्द लेख्थे र सँगै हिँड्न डराउँथे। हिँडडुल गर्ने, विद्यालय जान र दैनिक जीवन चलाउन सबै कुरामा चुनौती थिए। यी कठिनाइहरूले उनलाई कम्जोर बनाउँनुको साटो अझ बलियो बनायो। सुरुमा आफूले पढ्न नसक्ने लागेको थियो, तर एउटा शिक्षकको साथ र प्रेरणाले उनको सोच फेरियो। शिक्षक घरमै आएर पढ्न सहयोग गरेपछि आत्मविश्वास बढ्न थाल्यो। उनले बुझे कि शारीरिक अक्षमता भए पनि सिक्ने चाहना र मेहनतले सम्भावना अनन्त हुन्छ।

एसएलसी उत्तीर्णपछि उनले शिक्षण पेशामा पाइला टेके। त्यो उनको लागि जागिर सुरु गर्ने मात्र अर्थ राख्दैन, जीवनलाई नयाँ दिशा दिने मोड थियो। दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन, तर उनले आफूलाई कहिल्यै कमजोर ठानेनन्। कमजोरीलाई शक्ति बनाएर अगाडि बढे। अध्यापनसँगै उच्च माध्यमिक तह पनि उत्तीर्ण गरे। कक्षामा उनी केवल पाठ्यपुस्तकको कुरा मात्र गर्दैनन्, जीवनका अनुभव पनि बाँड्छन्।

उनको पारिवारिक जीवन पनि संघर्षपूर्ण छ। उनको श्रीमती पनि दृष्टिविहीन छन्। उनीहरूले १३ वर्षीय छोरी र दुई वर्षीया सानो छोराको जिम्मेवारी मिलेर निभाइरहेका छन्। छोरीले पनि सानै उमेरमा ठूलो जिम्मेवारी बोकेको छिन्। घरको कामदेखि बाबुआमाको हेरचाहसम्म सबैमा सक्रिय छिन्। चौधरीको जीवनमा संगीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ। कहिलेकाहीँ गीत गाउँछन्, कहिले कविता लेख्छन्। सानै उमेरमा लेखेको कविताले आज पनि उनको सोच झल्काउँछ: ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन।’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्ने ऊर्जा दिएको छ।

समाजमा अपाङ्गता भएका प्रति दृष्टिकोण बिस्तारै सकारात्मक हुँदै गएको छ। ‘पहिले हेप्नेहरूले आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,’ उनी भन्छन्। गाउँमा कुनै कार्यक्रम हुँदा उनी विशेष रूपमा बोलाइन्छन्। उनी अब केवल एक व्यक्ति मात्र होइन, अनुभव र प्रेरणाको स्रोत बनेका छन्। उनका विचारमा अपाङ्गता भएका व्यक्तिलाई दया होइन, अवसर चाहिन्छ। ‘हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,’ उनले बताए।