
सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई-पेन्सन सेवा तनहुँ जिल्लामा कार्यान्वयनमा आएको छ। भानु नगरपालिकाका निवृत्त शिक्षा अधिकारी ध्रुवराज पौडेल यस सेवाका पहिलो लाभार्थी बनेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले ई-पेन्सन सेवा सेवाग्राहीमैत्री र पारदर्शी बनाउने उद्देश्यले यो सेवाको शुरुआत गरेको जनाएको छ। १० वैशाख, दमौली (तनहुँ)।
जिल्लामा लागू भएको सेवाअन्तर्गत, भानु नगरपालिकाबाट निवृत्त शिक्षा अधिकारी ध्रुवराज पौडेल पहिलो सेवाग्राहीको रूपमा दर्ता भएका छन्। निवृत्तीभरण अधिकारपत्र प्राप्त गर्दै प्रथम सेवाग्राही बन्न पाउँदा आफू गौरवान्वित महसुस गरेको पौडेलले प्रतिक्रिया दिए। उनका अनुसार अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत अधिकारपत्रका साथै सञ्चित बिदा रकम र उपचार खर्चसमेत एउटै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था भएको छ। यसले समय, श्रम र खर्च बचत हुने मात्र होइन, सूचना प्रविधिको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई अझ सहज बनाएको उनले बताए।
कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँ (कोलेनिका) का प्रमुख अशोकराज खनालले ई-पेन्सन सेवा सेवाग्राहीमैत्री र पारदर्शी बनाउन यो सेवा सुरु गरिएको जानकारी दिए। उनले भने, ‘डिजिटल माध्यमबाट पेन्सनसम्बन्धी सेवा प्रवाह गर्दा सेवाग्राहीले छिटो, सहज र झन्झटमुक्त सेवा पाउनेछन्। यसले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ।’






