
१० वैशाख, संखुवासभा । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ मा माछा मार्न गएका एक पुरुष जालमा फसेर मृत अवस्थामा भेटिएका छन् । स्थानिय ३९ वर्षीय धन्दुराम राई मृत अवस्थामा फेला परेको सिलिचोङ–१ का वडाध्यक्ष अनिश राईले जानकारी दिएका छन् । धन्दुराम बुधबार दिउँसो माछा मार्न संखुवा खोलातर्फ गएका थिए । लामो समयसम्म घर नफर्किएपछि परिवार र छिमेकीले बिहीबार बिहान स्थानिय प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका थिए । खोजी गर्ने क्रममा राई मृत अवस्थामा खोलामा फेला परेका वडाध्यक्ष राईले बताएका छन् । खोलाभित्र माछा मार्ने जालमा फसेर उनको शव फेला परेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






