
११ वैशाख, काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लाहरूमा गर्मी बढ्ने भएकाले तातो लहर चल्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ। आज मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने अनुमान गरिएको छ। ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर आउने सम्भावना छ,’ विभागले आज बिहान प्रकाशित गरेको मौसम बुलेटिनमा उल्लेख गरेको छ।
विभागका अनुसार लुम्बिनी प्रदेशका भैरहवा, कपिलवस्तु, नेपालगञ्ज, दाङ लगायतका क्षेत्रमा दिउँसो अत्यधिक गर्मी महसुस हुनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रहरूमा सामान्यतया बादल लाग्ने छन्। कोशी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रहरू साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगहरूमा मेघगर्जन र चट्याङसँगै मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका तराईका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज राति हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल रहने र तराई क्षेत्रमा मुख्य रूपमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।






