
एउटा ठूलो हलभित्र मानिसहरू व्यायाम गरिरहेका, क्यान्टिनमा खाना खान लाइनमा बसेका तथा डर्मेटरीमा सधैं जस्तै सुतेका भिडिओहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्। यी कुनै विलासी स्पा होइनन्, बरु चीनमा रहेका सैन्यशैलीका तौल घटाउने शिविर हुन्। कतिपयले “मोटाहरूको जेल” पनि भनेका यी शिविरमा ‘स्न्याक’ खानेकुरामा कडा प्रतिबन्ध लगाइएको छ र दिनमा दुईपटक अनिवार्य तौल मापन गरिन्छ।
मोटोपनको समस्या बढ्दै गएको चीनभरि यस्ता शिविरहरूको संख्या करिब १ हजार रहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। करिब ६ सय डलर तिरेपछि तपाईँले यस्ता शिविरमा एक महिना बिताउन सक्नुहुन्छ। यो भाडामा खाना, बसाइ र दैनिक कसरत कक्षाहरू समेटिएका छन्। कन्टेन्ट क्रिएटर टीएल ह्वाङले शिविरको अनुभव इन्स्टाग्राममा सेयर गरेकी छन्। बीबीसी विश्व सेवाको ‘ह्वाट इन द वर्ल्ड’ पोडकास्टसँग कुरा गर्दै उनले त्यहाँ “एकदमै जेलजस्तो अनुभव भएको” बताइन्, किनभने २८ दिनसम्म उनले शिविर छोड्न पाइनन् र लगातार तौल मापन गरिरहनुपरेको थियो।
ह्वाङले तौल घटाउन यो प्रक्रिया प्रभावकारी भएको बताइन्, तर पोषणविद्हरूका अनुसार यस्ता कडा विधिहरूले गम्भीर शारीरिक र मानसिक जोखिमहरू निम्त्याउन सक्छन्। “केहि शिविरहरूले दैनिक १ किलोग्राम तौल घटाउने लक्ष्य राखेका हुन्छन्। तर मेडिकल पर्यवेक्षणमा समेत वयस्कहरूका लागि सुरक्षित मानिने स्तरभन्दा यो धेरै नै बढी हो,” भौतिक प्रशिक्षक तथा पोषणविद् ल्युक हेनाले बताएका छन्।
चीनमा करिब ३४% वयस्कहरूको तौल बढी रहेको र करिब १६% लाई मोटोपना नै भएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यस्ता शिविरको लोकप्रियता सामाजिक सञ्जाल विस्तारसँगै बढेको छ। ह्वाङको इन्स्टाग्राममा हाल उनले थाईल्याण्ड पुगेर त्यहाँको अर्को ३० दिने तौल घटाउने शिविरमा सहभागी भएको देखिन्छ।






