Skip to main content

वालेन्द्र शाहः सुकुम्बासी बस्ती खाली गर्ने योजनाविरुद्ध विरोध, विस्थापितहरूको व्यवस्थापन कसरी हुने?

सरकारले काठमाडौँका तीन स्थानका सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि अधिकारीहरूले त्यहाँ बसोबास गर्ने मानिसहरूलाई अस्थायी रूपमा तीन ठाउंमा सारिने योजना बनाएका छन्। सुरक्षाकर्मी र काठमाडौं महानगर प्रहरीबाट गठन गरिएको टोलीले शुक्रबार साँझसम्म घरटहरा खाली गर्न थापाथली, मनहरा तथा सिनामंगल क्षेत्रमा सुकुम्बासी बस्तीमा माइकिङ गरेको थियो। काठमाडौं महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले जिल्ला प्रशासन कार्यालयको सर्कुलर अनुसार माइकिङ गरिएको र हटाइएका मानिसहरूलाई विभिन्न पार्टी प्यालेस लगायतका स्थानहरूमा राख्ने तयारी भइरहेको बताए।

तर एक भूमिअधिकारवादीले सम्बन्धित पक्षसँग छलफल नगरिकन सरकारले बलपूर्वक स्थानान्तरण गर्न खोजिरहेका कारण त्यसविरुद्ध प्रतिरोध हुनसक्ने चेतावनी दिएकी छिन्। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रधानमन्त्री बन्दा नै सार्वजनिक गरेको १००-बुँदे कार्यक्रममा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको लगत लिने र चरणबद्ध रूपमा जग्गा उपलब्ध गराउने वा एकीकृत पुनर्वास व्यवस्था मिलाउने योजना उल्लेख छ। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पर्याप्त तयारीसहित यो कदम चालिएको र ‘साँचो’ र ‘नक्कली’ सुकुम्बासी पहिचान गरी वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गर्न सरकार लागेपनि बताइन।

सुकुम्बासी बस्ती छेउछाउमा माइकिङ र चेतावनीयसै साता प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूलाई नदी किनारका सार्वजनिक, सरकारी र पर्ती जग्गा अतिक्रमणमा परेको भन्दै त्यहाँ रहेका घरटहरा हटाउन निर्देशन दिएका थिए। यी निर्देशनहरूलाई कार्यान्वयन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले छबुँदे सूचना जारी गरेको छ। सुरक्षा निकाय र महानगरीय प्रहरी टोलीले राजधानीका तीन ठाउँका सुकुम्बासी बस्तीमा बिहीबार र शुक्रबार माइकिङ गरेर सूचनाहरू सार्वजनिक गरेका थिए। सूचनामा शुक्रबार साँझ ७ बजेभित्र अवैध रूपमा बनेका घरटहरा खाली गर्न भनिएको छ भने शनिबार बिहान ६ बजेदेखि घरटहरा भत्काउने र अतिक्रमणमा रहेको जग्गा पूर्णरूपमा खाली गराइने उल्लेख छ।

कसैले यस्तो कार्यमा बाधा पुर्याए कानुनअन्तर्गत कडा कारबाही हुने चेतावनी सूचनामा दिइएको छ। त्यहाँबाट हटाइएका मानिसहरूलाई सरकारले तोकेका विभिन्न ‘बसोबासका आधारभूत न्यूनतम सुविधायुक्त स्थानहरू’मा राखिने उल्लेख पनि छ। बीबीसीसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले तीनवटा सुकुम्बासी क्षेत्रमा माइकिङ गरेको र केही परिवारले टहरा छाडेका अनि केहीले अस्थायी बसोबासका लागि नाम टिपाएको बताए। “ती मानिसहरूलाई विभिन्न पार्टी प्यालेसमा राख्न उपयुक्त हुनसक्ने कुरा आएको छ। आज दिउँसोसम्ममा निर्णय लिइनेछ।” गृह मन्त्रालयका अधिकारीका अनुसार विस्थापितहरूको व्यवस्थापनबारे अपराह्न सहरी विकास मन्त्रालयमा हुने बैठकमा निर्णय गरिने छ।