
वैवाहिक जीवन दुई फरक सोच, संस्कार र जीवनदृष्टिको संयोजन हो, जसले भावनात्मक सन्तुष्टि र जिम्मेवारी दुवै आवश्यक बनाउँछ। नेपालमा विवाह केवल व्यक्तिगत निर्णय नभई परिवार र समाजसँग गहिरो रूपमा जोडिएको सामाजिक संस्था हो। वैवाहिक सम्बन्धमा संवाद, विश्वास, सम्मान र माया सुमधुर सम्बन्धका मुख्य आधार हुन् र यी तत्वहरूलाई कायम राख्न सचेत प्रयास आवश्यक हुन्छ। वैवाहिक जीवन मानव जीवनको सबैभन्दा संवेदनशील, जटिल र महत्वपूर्ण सम्बन्धहरू मध्ये एक हो। यो केवल दुई व्यक्तिको मिलन मात्र होइन, दुई फरक सोच, संस्कार, अनुभव, अपेक्षा र जीवनदृष्टिको एकीकरण हो। विवाह एक स्थिर संस्था जस्तो देखिए पनि यसको भित्री संरचना निरन्तर परिवर्तनशील हुन्छ। समय, परिस्थिति, सामाजिक प्रभाव, आर्थिक अवस्था र व्यक्तिगत विकाससँगै सम्बन्ध पनि रूपांतरण हुँदै जान्छ। आजको समयमा वैवाहिक सम्बन्ध पहिलेको जस्तो स्थिर र निश्चित मात्र छैन। अहिले व्यक्तिहरू स्वतन्त्र सोच राख्छन्, आफ्नो पहिचान खोज्छन्, र सम्बन्धबाट केवल जिम्मेवारी मात्र होइन, भावनात्मक सन्तुष्टि पनि चाहन्छन्। यही कारणले गर्दा विवाहलाई सफल र सुमधुर बनाउन सचेत प्रयास आवश्यक हुन्छ।
विवाहको इतिहास मानव सभ्यताको विकाससँगै जोडिएको छ। प्रारम्भिक समाजमा विवाहको उद्देश्य मुख्यतः जैविक र आर्थिक थियो। मानिसहरूले सन्तान उत्पादन, श्रम बाँडफाँड र सम्पत्ति संरक्षणका लागि विवाहको प्रचलन सुरु गरे। अहिले त्यो धारणा बदलिएको छ, जसमा भावनात्मक सन्तुष्टि, आत्मसम्मान, स्वतन्त्रताका साथै अलग पहिचान पनि चाहिन्छ। विवाहको शुरुवातमा एकले अर्कोलाई पूर्णरूपमा समर्थन र समर्पित हुने परिपाटी बढी थियो भने अहिले आत्मसम्मान र ‘मि टाइम’ आफ्ना लागि पनि समय दिने र छुट्ट्याउने प्रचलन बढेको छ। समयक्रममा विवाहले विभिन्न रूप लियो, प्राचीन समाजमा परिवार र कूलको निरन्तरता, मध्यकालीन समयमा सामाजिक प्रतिष्ठा र राजनीतिक सम्बन्ध, आधुनिक समयमा प्रेम, आत्मीयता र व्यक्तिगत सन्तुष्टिलाई मानिसले विवाहलाई जोड्न थालेको छ। नेपालजस्तो समाजमा विवाह अझै पनि परम्परा, संस्कार र सामाजिक मूल्यसँग गहिरो रूपमा जोडिएको छ। यहाँ विवाह केवल व्यक्तिगत निर्णय मात्र नभई पारिवारिक र सामाजिक निर्णय पनि हो।
विवाह मानव जीवनमा विभिन्न कारणले महत्वपूर्ण मानिन्छ। भावनात्मक सहारा मानिसलाई जीवनमा कसैको साथ चाहिन्छ। विवाहले त्यो भावनात्मक सहारा प्रदान गर्छ। भावनात्मक सहारा वैवाहिक जीवनको अत्यन्त महत्वपूर्ण आधार हो, किनभने मानिस केवल शारीरिक आवश्यकताले मात्र होइन, भावनात्मक रूपमा पनि बाँचिरहेको हुन्छ। प्रत्येक व्यक्तिलाई जीवनमा यस्तो कोही चाहिन्छ जसले उसलाई बुझोस्, स्वीकारोस् र कठिन समयमा साथ देओस्। विवाहले यही आवश्यकता पूरा गर्ने सुरक्षित र नजिकको सम्बन्ध प्रदान गर्छ, जहाँ व्यक्ति आफ्ना खुशी, दुःख, डर, असुरक्षा र अपेक्षाहरू स्वतन्त्र रूपमा व्यक्त गर्न सक्छ। जब जीवनमा तनाव, असफलता, आर्थिक दबाब वा पारिवारिक समस्या आउँछ, त्यस्तो अवस्थामा जीवनसाथीको सानो साथ, ध्यानपूर्वक सुन्ने बानी र सहानुभूतिपूर्ण व्यवहारले मानसिक बोझ निकै कम गर्न सक्छ। त्यस्तै, खुशीका क्षणहरूमा पनि सँगै रमाउनु, सानो उपलब्धिलाई पनि प्रशंसा गर्नु र एकअर्काको सफलतामा गर्व गर्नुले सम्बन्धलाई अझ गहिरो र अर्थपूर्ण बनाउँछ।






