दक्षिण अफ्रिकामा १३ करोड २० लाख वर्ष पुराना डाइनोसरका पदचिह्नहरू फेला परे

दक्षिण अफ्रिकाको दक्षिणी तटीय क्षेत्रमा १३ करोड २० लाख वर्षअघि रहेका डाइनोसरका पदचिह्नहरू फेला परेका छन्। नेल्सन मन्डेला विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले वेस्टर्न केपमा दुई दर्जनभन्दा बढी पदचिह्नहरू पत्ता लगाएका छन्। अनुसन्धानले देखाएको छ कि यी पदचिह्नहरू थेरोपोड्स, अर्निथोपड्स र सौरोपोड्स प्रजातिका डाइनोसरहरूले छोडेका थिए।
नाइस्ना नजिकैको एउटा सानो चट्टानी क्षेत्रमा भेटिएका यी पदचिह्नहरू दक्षिण अफ्रिकामा अहिलेसम्म फेला परेका सबैभन्दा पुराना डाइनोसर अवशेषहरू हुन्। यसअघि वैज्ञानिकहरूले विश्वास गर्थे कि १८ करोड २० लाख वर्षअघि भएको ठूलो ज्वालामुखी विस्फोट र त्यसबाट निक्लिएको लावाले यस क्षेत्रका सबै डाइनोसरका चिन्हहरू नष्ट गरेको थियो। तर नयाँ खोजले पुष्टि गरेको छ कि सो प्रकृतिक विपत्तिपछि पनि यहाँ डाइनोसरहरू जीवित थिए र लामो समयसम्म यहाँ घुमफिर गर्दै आएका थिए।
अनुसन्धानकर्ताहरूले वेस्टर्न केपको समुद्री तटमा करिब ४० मिटर लामो र ५ मिटर चौडा सानो चट्टानी भागमा दुई दर्जनभन्दा बढी पदचिह्नहरू फेला पारेका छन्। यो क्षेत्र ज्वारभाटाको समयमा समुद्रमुनि डुब्ने स्थान हो। यति सानो ठाउँमा यति धेरै पदचिह्नहरू भेटिनुले त्यो समयमा यहाँ डाइनोसरहरूको प्रचुर उपस्थिति रहेको सङ्केत गर्दछ। वैज्ञानिकहरूले वेस्टर्न केप र इस्टर्न केपका अन्य क्षेत्रहरूमा पनि यस्ता धेरै अवशेषहरू हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।






