
सामान्यतया ‘अर्ली ट्वेन्टिज’ मा अल्ट्रा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्छन्। तर आङ फुर्बा भने उमेरले दुई दशक पुग्नै लाग्दा अल्ट्रा रनिङमा स्टारका रूपमा उदाइसकेकी छिन्। २० वर्षीया आङ फुर्बा शेर्पाले मञ्जुश्री ट्रेल रेस १०० माइल महिलातर्फ ३३ घण्टा १३ मिनेट ०६ सेकेन्डमा जितिन्। उनले अल्ट्रा ट्रेलमा चार वर्ष बिताउँदै नेपाल र विदेशका विभिन्न रेसहरूमा उत्कृष्ट प्रदर्शन गरिन्। उनले स्पोन्सर नहुँदा सबै खर्च आफैं व्यहोरेकी छिन् र अन्तर्राष्ट्रिय रेसमा भाग लिन सहयोगको आवश्यकता बताइन्।
११ वैशाख, काठमाडौं। २० वर्षीया आङ फुर्बा शेर्पाले भर्खरै सम्पन्न नेपालकै चर्चित मञ्जुश्री ट्रेल रेस (एमटीआर) मा १०० माइल अर्थात् करिब १६० किलोमिटर लामो दूरीको रेस जितिन्। उनले निर्धारित दूरी ३३ घण्टा १३ मिनेट ०६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारेकी हुन्। उनले विदेशी खेलाडी तथा पूर्वविजेता अनिता राईलाई पछि पारिन्। नेदरल्यान्ड्सकी अन्ने माई बान ३३ घण्टा ५१ मिनेट ४१ सेकेन्डसहित दोस्रो र नेपालकै अनिता राई तेस्रो भइन्। अनिताले ३८ घण्टा १८ मिनेट २३ सेकेन्ड समय लगाइन्।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–२ फेराकी आङ फुर्बा यसअघि अल्ट्रा ट्रेलमा धेरै उपलब्धि हासिल गरे पनि त्यति चर्चामा थिइनन्। काठमाडौं उपत्यकामै हुने मञ्जुश्रीमा लामो दूरीको रेस जितेपछि भने आङ फुर्बाको चर्चा केही बढेको छ। उनले १८ वर्षको हुँदा पहिलोपटक मञ्जुश्री दौडेकी थिइन्। मञ्जुश्रीमा तेस्रो सहभागितामा उनी च्याम्पियन बनिन्। यसअघि दुईपटक दौडँदा उनी तेस्रो भइन्। गत वर्ष दौड पूरा गर्न सकिनन्।
आङ फुर्बाले सन् २०२२ मा एभरेस्ट ट्रेल रेसमार्फत यात्रा सुरु गरेकी थिइन्। सुरुमा उनलाई यो अल्ट्रा ट्रेलबारे थाहा थिएन। तर आफ्नै दाइ निमा टेन्डी शेर्पाले रेसबारे जानकारी गराएपछि उनलाई पनि रुचि बढ्यो। उनले भने, “दाइले इन्टरनेटमा हेरेर यो रेसबारे मलाई भन्नुभएको थियो। त्यसपछि मलाई पनि ट्राइ गर्न मन लाग्यो।” उनले अल्ट्रा ट्रेलमा चार वर्ष बिताउँदा सोलुखुम्बुदेखि काठमाडौंसम्म, मनास्लुदेखि जुम्लासम्म विभिन्न रेसहरूमा भाग लिइसकेकी छिन्।
आङ फुर्बाले भनेकी छिन्, “मेरो लक्ष्य भनेको त विदेशमा गएर अन्तर्राष्ट्रिय इभेन्टहरू, वर्ल्ड च्याम्पियनसिप खेल्ने नै हो।” उनले स्पोन्सरको कमीले गर्दा अन्तर्राष्ट्रिय रेसमा भाग लिन गाह्रो हुने बताइन्। “स्पोन्सर छैन भने हामीलाई गाह्रो हुन्छ। राम्रो स्पोन्सर पायो भने अन्तर्राष्ट्रिय रनहरूमा भाग लिन सजिलो हुन्छ,” उनले भनिन्।






