Skip to main content

ट्रम्पको कार्यक्रममा गोली चलाउने व्यक्ति ३१ वर्षीया कम्प्युटर इन्जिनियर कोल एलेन

अमेरिकी राष्ट्रपतिद्वारा आयोजना गरिएको डिनर कार्यक्रममा गोली चलाउने ३१ वर्षीय कोल एलेनलाई प्रहरीले पक्राउ गरेको छ। कोल एलेन क्यालिफोर्नियाका कम्प्युटर इन्जिनियर तथा स्वतन्त्र गेम डेभलपर हुन्, जसले फर्स्ट–पर्सन सुटर गेम बनाएका थिए। एलेनले सिक्रेट सर्भिसका अधिकारीमाथि गोली चलाएका थिए र जवाफी कारबाहीमा नियन्त्रणमा लिएर अस्पताल पुर्‍याइएको थियो। १३ वैशाख, काठमाडौं। अमेरिकी राष्ट्रपतिद्वारा पत्रकारहरूको लागि आयोजना गरिएको डिनर कार्यक्रममा गोली चलाउने व्यक्तिको पहिचान गरिएको छ। पक्राउ परेका ३१ वर्षीया युवकको नाम कोल एलेन रहेको प्रहरीले पुष्टि गरेको छ। वाशिङ्टन हिल्टन होटलमा भएको उक्त कार्यक्रममा अचानक गोली चल्दा राष्ट्रपति ट्रम्प, उनकी पत्नी मेलानिया, उपराष्ट्रपति जस्टीन भान्स लगायतलाई सुरक्षा कर्मचारीले सुरक्षित स्थानमा लगेर उद्धार गरेका थिए। घटनापछि सुरक्षाकर्मिहरूले संदिग्धलाई नियन्त्रणमा लिएका थिए।

कोल एलेन क्यालिफोर्नियाका कम्प्युटर इन्जिनियर हुन् र उनले फर्स्ट–पर्सन सुटर गेम डिजाइन गर्ने काम गर्थे। फक्स न्युजका अनुसार, एलेन आफैले गोली चलाएको आरोपमा पक्राउ परेका छन्। उनका लिङ्कडइन प्रोफाइल अनुसार, एलेन कम्प्युटर वैज्ञानिक, इन्जिनियर र स्वतन्त्र गेम डेभलपरका रूपमा परिचित छन् र ‘फर्स्ट ल’ नामक सुटर रोल–प्लेइङ गेम समेत निर्माण गरेका छन्। उनले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक) मा मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका थिए र २०१७ मा स्नातक भएका थिए। २०१४ को गर्मीमा उनले नासा जेट प्रपल्सन ल्याबमा अन्डरग्राजुएट अनुसन्धान फेलोको रूपमा एस्ट्रोफिजिक्स अनुसन्धानमा योगदान दिएका थिए।

शनिबार राति आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले बताएअनुसार, एलेन सिक्रेट सर्भिस सुरक्षा चौकीतर्फ हतियारसहित दौडिएका र एक अधिकारीमाथि गोली चलाएका थिए। गोली लागेका अधिकारीलाई बुलेटप्रूफ भेस्टले जोगाएको थियो, तर उनलाई अस्पताल पुर्‍याइएको थियो। सुरक्षा निकायका एजेन्टहरूले जवाफी कारबाहीमा एलेनलाई नियन्त्रणमा लिएर अस्पताल लगेका थिए। राष्ट्रपति ट्रम्पले एलेनलाई ‘एक्लो आक्रमणकारी’ र ‘गम्भीर मानसिक समस्याग्रस्त व्यक्ति’ भनेका छन्। कार्यक्रमका सहभागीहरूले घटनापछि मैदानमा झुकेर बसेका थिए।