
जापानमा आयोजित २२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक हासिल गरेका छन्। गणेशले ८७ केजी भन्दा माथिल्लो तौल समूहमा स्वर्ण पदक जितेका हुन्। उनले स्वर्ण पदकको निश्चित गर्न जापानका खेलाडीलाई पराजित गरेका थिए।
यस्तै, ८० केजी मुनी तौल समूहमा प्रवीण श्रेष्ठले रजत पदक हात पारेका छन्। उनले जापानी खेलाडीलाई पछि पार्दै फाइनल स्थान बनाएका थिए, तर फाइनलमा इन्डोनेसियाका खेलाडीसँग पराजित भएका छन्। ८७ केजी मुनी तौल समूहमा सन्देश अधिकारीले समेत रजत पदक प्राप्त गरेका छन्। उनले पनि जापानी खेलाडीलाई हराउँदै स्वर्ण पदकको भिडन्तमा प्रवेश गरेका थिए, तर फाइनलमा इन्डोनेसियाका खेलाडीसँग पराजित भएका छन्।
यो प्रतियोगिता २४ अप्रिलमा सुरु भएर २७ अप्रिलमा समाप्त हुँदैछ। नेपालकी आयुशा कार्कीले ४५ केजी मुनी तौल समूहमा स्वर्ण पदक जितेको टिम प्रशिक्षक सरोज तामाङले जानकारी दिएका छन्। यु–११ व्यक्तिगत पुम्सेको महिलाको समूहमा आरभी ज्ञवालीले रजत पदक र पुरुष समूहमा विशेषचन्द्र गामी तथा श्रेयन कार्कीले कांस्य पदक जितेका छन्। टिमको व्यवस्थापक रुष्मा सुवेदी हुन्।






