Skip to main content

सुकुम्वासी बस्तीका पशुप्राणीहरूको उद्धार कार्य जारी

सुकुम्वासी बस्तीमा आश्रित कुकुर र बिरालोलाई खाना खुवाउने र उद्धार गर्ने कार्य स्वतःस्फूर्त रूपमा जारी छ। स्नेहा केयर्सले घाइते र सुत्केरी कुकुरलाई शेल्टरमा सारेर उचित स्याहार र व्यवस्थापन गर्दैछ। कुकुर र बिरालोलाई एक महिनाका लागि अस्थायी आश्रय दिने व्यवस्था समेत गरिएको छ। यसबखत सुकुम्बासी बस्तीमा करुणा र समभावको फरक दृष्टान्त देख्न सकिन्छ। त्यहाँ आश्रित कुकुर, बिरालोलगायत पशुप्राणीलाई खाना खुवाउने र उद्धारमा कतिपय स्वयंसेवकहरूले सक्रियता देखाइरहेका छन्। घरमै पकाएर ल्याएको खानेकुरा खुवाउनेदेखि कुकुर–बिरालोलाई सुरक्षित स्थानान्तरण गर्ने कार्यसम्म भइरहेको छ।

पशु कल्याणमा जुटेका व्यक्ति तथा संघ–संस्थाहरू एकअर्कासँग सहकार्य गर्दै भूखा, रोगी र असुरक्षित पशुप्राणीको उद्धार गरिरहेका छन्। बिहान सबेरैदेखि उनीहरू यी पशुप्राणीको मानवीय व्यवस्थापनमा सघाउन खटिएका छन्। ‘धेरै कुकुरहरू सुत्केरी, रोगी र घाइते छन्,’ स्नेहा केयर्सकी स्नेहा श्रेष्ठ बताउँछिन्, ‘तिनलाई हामीले ठीकसँग स्याहार र व्यवस्थापन गर्दैछौं।’ घाइते र सुत्केरी कुकुरलाई स्नेहा केयर्सले आफ्नो शेल्टरमा सार्न थालेको उनले जानकारी दिइन्।

त्यस्तै, सुकुम्वासी बस्ती छाड्ने कतिपय परिवारले आफ्ना पशुप्राणीलाई साथ लैजान सक्दैनन्, यस्ता अवस्थामा यी संघ–संस्थाहरूले अस्थायी आश्रय प्रदान गरिरहेका छन्। ‘कतिपयले तुरुन्त आफ्ना कुकुर, बिरालो लगायत पशुप्राणीलाई सार्न सक्दैनन्,’ स्नेहा भन्छिन्, ‘त्यस्ता पशुप्राणीलाई एक महिनाका लागि आश्रय दिने व्यवस्था मिलाइरहेका छौं।’ आश्रयमा राखिएका पशुप्राणीलाई पछि मालिकले अनुकूलता अनुसार घर लैजान सक्नेछन्। वर्तमानमा मनोहरा, थापाथली लगायत सुकुम्वासी बस्तीमा रहेका बेवारिसे पशुप्राणीलाई स्नेहा केयर्स, क्याट, एनिमल नेपाल, सारा जनावर उद्धार केन्द्र लगायतका संस्थाहरूले उद्धार र उपचार गर्दैछन्। घाइते र बेवारिसे पशुप्राणीको आवश्यक व्यवस्थापन र हेरचाह भइरहेको छ। इरफान खान, विश्वराम कार्की, तुलाराज राजवंशी लगायत पशु कल्याणमा संलग्न थुप्रै व्यक्तिहरू स्वयंसेविताले सहयोग गरिरहेका छन्।