
छैटौं एसियन बीच गेम्स २०२६ अन्तर्गत ‘बीच रेस्लिङ’मा नेपालका तीनै खेलाडी सुशीला चन्द, त्रिलोकी प्रसाद यादव र सुरेश चुनारा नकआउट चरणबाट बाहिरिएका छन्। महिला ७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी सुशीला चन्दले भारतीय खेलाडी जसप्रित कौरसँग लगातार दुई खेलमा ३-० ले पराजय भोगिन्। पुरुष ९० केजी माथि तौल समूहका त्रिलोकी प्रसाद यादवले तीन खेलमा हार बेहोरे भने सुरेश चुनाराले ८० केजी तौल समूहमा एक खेल जित्दै नकआउटबाट बाहिरिएका छन्। १५ वैशाख, काठमाडौं।
सुशीला चन्दको पहिलो खेल नेपाली समयानुसार विहान ७:४५ मा भएको थियो, जहाँ उनले भारतीय खेलाडी जसप्रितसँग ३-० ले पराजित भइन्। दोस्रो खेलमा पनि उनले जसप्रितसँग ३-० ले हार बेहोरेकी हुन्। त्रिलोकी प्रसाद यादवले ९० केजी तौल समूहमा तीनै खेलमा हार बेहोरेका छन्। पहिलो खेलमा मङ्गोलियाका अल्ताङ्जिरेल चिनबाट ३-० ले पराजित भए। दोस्रो खेलमा उनले पाकिस्तानका मोहम्मद गुल्जारसँग ३-० ले हार बेहोरे। तेस्रो खेलमा बहराइनका सामिल सारिपोभसँग पनि ३-० ले पराजित हुँदै जितविहीन रहँदै नकआउटबाट बाहिरिए।
सुरेश चुनाराले ८० केजी तौल समूहमा एक खेल जितेका थिए। पहिलो खेलमा उनले पाकिस्तानी खेलाडी मोहम्मद असद उल्ल्लाहसँग ३-१ ले हार बेहोरे। तर दोस्रो खेलमा कम्बोडियाका रोथ्था हेङलाई ३-१ ले पराजित गरे। तेस्रो खेलमा पुनः सुरेश भियतनामका भान हाओ एन्गुएनसँग ३-१ ले पराजित हुँदै नकआउट चरणबाट बाहिरिएका हुन्। नेपालबाट छैटौं एसियन बीच गेम्समा दुईवटा खेलहरू सहभागी भएका थिए, जसमा महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो।






