
नेपाल रेड र नेपाल ब्लु टोलीबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल रेडले ४ रनको अन्तरले जित हासिल गरेको छ। नेपाल रेडले दिएको २७७ रनको लक्ष्य पछ्याएको नेपाल ब्लुले ५० ओभरमा ७ विकेट गुमाएर २७२ रन मात्रै जोड्न सक्यो। अर्जुन घर्तीले सर्वाधिक ५९ रन बनाए भने विशाल पटेल र अभिशेष गौतमले २-२ विकेट लिए। १४ वैशाख, काठमाडौं। नेपाल रेड र नेपाल ब्लु टोलीबीचको एकदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल रेडले रोमाञ्चक जित हासिल गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलेको खेलमा नेपाल रेड ४ रनले विजयी भएको हो।
नेपाल रेडले दिएको २७७ रनको लक्ष्य पछ्याएको नेपाल ब्लुले ५० ओभरमा ७ विकेट गुमाएर २७२ रन मात्रै जोड्न सकेको थियो। अर्जुन घर्तीले सर्वाधिक ५९ रन बनाए। मयन यादवले ४९ रन बनाए भने नारायण जोशीले ४६ र पवन सर्राफले ४४ रन गर्दै महत्वपूर्ण योगदान गरे। सन्दीप जोरा ३५ रनमा डटे। नेपाल रेडका विशाल पटेल र अभिशेष गौतमले समान २ विकेट लिए भने शेर मल्ल र राशिद खानले १-१ विकेट लिए।
पहिले टस जितेर ब्याटिङ गरेको नेपाल रेडले ५० ओभरमा ९ विकेट गुमाएर २७६ रन बनाएको थियो। ओपनर अर्जुन कुमाल ७३ रनमा रिटायर भए। कप्तान अनिल साहले ३५ रन जोडे। शंकर राना र दीपक डुम्रेले समान ३३ रन बनाए। राशिद खानले २६ तथा कुशल मल्ल र तृतराज दासले समान १६ रनको योगदान दिए। नेपाल ब्लुको लागि प्रकाश जैशी, बिपिन खत्री, शाहब आलम र पवन सर्राफले २-२ विकेट लिए भने रुपेश सिंहले १ विकेट लिए। यसअघि नेपाल रेड टोलिले ओमानसँग २ खेलको शृंखला खेलेको थियो, जहाँ एक खेल जितेको र एक खेल गुमाएको थियो।






