Skip to main content

चाँगुनारायण राष्ट्रिय ट्रेल रन १९ वैशाखमा आयोजना हुने

नेपाल एड्भेन्चर रनिङ महासंघले वैशाख १९ गते चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्न लागेको छ। प्रतियोगितामा खुल्ला ३६ किमि र यू–२० का लागि ७ किमि दौड समावेश गरिएको छ र २५० भन्दा बढी खेलाडी सहभागी हुने आशा गरिएको छ। खुल्ला ३६ किमि का विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् र प्रतियोगिताको बजेट २८ लाख ११ हजार रुपैयाँ रहेको छ।

नेपाल एड्भेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा चाँगुनारायण राष्ट्रिय ट्रेल रन आगामी वैशाख १९ गते शनिबार हुने तय भएको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले राष्ट्रिय खेलकुद ऐनअनुसार प्रत्येक वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्ने व्यवस्था अनुसार यस वर्ष चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्न लागेको जानकारी दिए।

प्रतियोगितामा खुल्ला ३६ किलोमिटर र यू–२० (२० वर्ष मुनि) का लागि ७ किलोमिटर दौड समावेश गरिएको छ। खुल्ला तर्फ महिला र पुरुष दुवै ३६ किलोमिटरमा प्रतिस्पर्धा गर्नेछन् भने यू–२० महिला र पुरुष तर्फ ७ किलोमिटर दूरीमा दौडिनेछन्। ट्रेल रनको रुट कच्ची-पक्की, उकालो-ओरालो बाटो, वनजंगलभित्रका हाइकिङ ट्र्याक समेटेर तयार गरिएको छ।

प्रतियोगितामा २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ। खुल्ला ३६ किलोमिटर महिला तथा पुरुष तर्फ विजेताले १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्राप्त हुनेछ। यू–२० तर्फ ७ किलोमिटर दौडको पहिलो विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। महासंघले ट्रेल रनमा नेपालमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आगामी दिनमा नियमित राष्ट्रिय प्रतियोगितासँगै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता पनि आयोजना गर्ने योजना बनाएको जानकारी दिएको छ।