Skip to main content

नेपाली सेनाको विपद् व्यवस्थापन तयारीमा पूर्ण तत्परता

काठमाडौँ । नेपाली सेनाले विगतमा गरेको विपद् व्यवस्थापन अनुभवलाई समेटेर यसवर्षको तयारी पूरा भएको जनाएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, गत वर्ष असोज १९ गते काठमाडौँ र देशका विभिन्न भागमा आएको बाढीमा नेपाली सेनाको उद्धार टोली सक्रिय भएर खटिएको थियो र अहिले पनि त्यसै अनुरूप तयारी जारी रहेको छ। उनले त्यतिबेला अबिरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र बाढी प्रभावित २८ वटा विभिन्न स्थानमा विपद् सम्बन्धी क्षति न्यूनीकरण र उद्धारका लागि आवश्यक उपकरणसहित नेपाली सेनाको फौज पूर्व तैनाथ गरिएको अवस्था स्मरण गराए।

साथै, गत वर्ष भक्तपुरको चाँगुनारायण–६ बिस्तृत बास्तोला गाउँमा स्थानिय भिरबाट निरन्तर पहिरो गएको कारण बस्ती जोखिममा परेकोले भक्तपुरको खरिपाटीस्थित रणशुर गुल्मबाट उद्धारका लागि खटिएको फौजले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जानकारी उनीले दिए। काठमाडौँको बुढानिलकण्ठ १०, आकाशेधारा क्षेत्रमा रुख ढलेर सडक अवरुद्ध भएपछि फष्टरैफल गणको फौजले अवरोध हटाउने काम प्रभावकारी रूपमा गरेको उनले जानकारी गराए। त्यसैगरी, ललितपुर महानगरपालिका–९ च्यासलको बागमती खोलाको पुलमुनी बाढीले बगाएको रुखले खोलामा अवरोध पुर्‍याएको अवस्थामा राजदल गणबाट खटिएको फौजले अवरोध हटाएको तथ्य पनि उनले स्मरण गराए। नेपाली सेनाले गत वर्ष उपत्यकाबाहेक विभिन्न स्थानमा खोज तथा उद्धार कार्यसमेत सफलतापूर्वक सञ्चालन गरेको उनको भनाइ छ।