Skip to main content

मजदुरका अधिकारमाथि प्रहारको विरुद्ध सशक्त आन्दोलन गर्नेछौं: अध्यक्ष सिंखडा

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिंखडाले मजदुरका अधिकारमाथि भइरहेको प्रहारको विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले श्रम ऐनका मजदुर विरोधी दफा १४५, १०९, ३९ र ५८ तुरुन्त हटाउन सरकारसँग माग गरेका छन्। बढ्दो महँगी र पेट्रोलियम मूल्य वृद्धिका कारण न्यूनतम ज्यालाले जीवन धान्न गाह्रो भएको उल्लेख गर्दै तलब वृद्धि र गुणस्तरीय शिक्षा–स्वास्थ्यको ग्यारेन्टीको माग पनि गरेका छन्।

सिंखडाले १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालमा लोकतान्त्रिक आन्दोलनमा मजदुर वर्गको योगदानको स्मरण गराए। उनले भने, “जस वर्गले रगत बगाएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो, आज तिनै मजदुरका अधिकारमाथि दक्षिणपन्थी शक्तिहरूले लोकप्रियतावादको मुखौटा लगाएर डोजर चलाइरहेका छन्।”

सिंखडाले वैदेशिक रोजगारीमा जाने मजदुरको मुख्य रोजगारदाता राज्य नै बन्नुपर्छ र उनीहरूको सुरक्षा कार्यमा सरकारले शतप्रतिशत जिम्मेवारी लिनुपर्छ भन्ने कुरा पनि जोड दिए। उनले डिजिटल अर्थतन्त्र र ‘गिग इकोनोमी’का नाममा मजदुरहरूलाई आधुनिक दास बनाउन खोजिएको चिन्ता व्यक्त गर्दै राइडर, अनलाइन भेन्डर र आउटसोर्सिङमा कार्यरत मजदुरलाई श्रम ऐनको दायराभन्दा बाहिर राखेर मालिकविहीन बनाउने खेल भइरहेको बताएका छन्।

अध्यक्ष सिंखडाले श्रम ऐनका मजदुरविरोधी दफा खारेज गर्न सरकारसँग माग गर्दै अबको आन्दोलन उद्योग र कलकारखानामा मात्र सीमित नहुने, सडक, सदन र डिजिटल प्लेटफर्मसम्म फैलिने बताए।