
१८ वैशाख, जनकपुरधाम । जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनालाई एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियाका लागि बुझाइएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप दिइएको छ र यसरी घटना मिलापत्र भएको हो ।
प्रहरी प्रशासनले अस्पताललाई संरक्षण गरेको आरोप लगाउँदै आफन्तजनले बाध्य भएर मिलापत्र गर्नुपरेको बताएका छन् । मृतक परिवारको पक्षबाट भूमिका खेलेका बलवा नगरपालिका–१ का वडाध्यक्ष पप्पु ठाकुरले पनि घटना मिलापत्र भएको पुष्टि गरेका छन् । शल्यक्रियापछि अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तजनले अस्पतालमा तोडफोड गरेका थिए।
मृतकका ससुरा दयाराम पासवानका अनुसार ‘प्वाल पारेर’ (ल्याप्रोस्कोपिक) शल्यक्रिया गर्ने सर्तमा अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले पेट काटेर शल्यक्रिया गर्दा मृत्यु भएको दाबी गरिएको थियो । परिवारले घटनाको छानबिन गरी लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाही र क्षतिपूर्ति दिन माग गरेका थिए । दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको थियो । तर, मृतक परिवार आर्थिक रुपमा कमजोर हुनु, कानुनी प्रक्रिया जटिल हुनु तथा प्रहरी प्रशासनसमेत अस्पतालकै पक्षमा देखिएको कारणले अन्ततः मिलापत्र गर्न बाध्य भएको आफन्तले बताएका छन्।
यता धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले मृतक परिवार र अस्पतालबीच सहमति भएपछि घटना टुंगिएको बताए। तोडफोडपछि प्रहरीले अस्पतालमा सुरक्षा मात्र दिएको रहेको उनको भनाइ छ । ‘हामीले मृतक परिवारलाई जाहेरी दिन आग्रह गर्यौं,’ उनले भने, ‘तर उनीहरूले जाहेरी दिएका छैनन् । अस्पतालमा तोडफोड भएपछि शान्ति सुरक्षाको व्यवस्था गर्नु हाम्रो दायित्व हो, त्यति मात्र गरेका हौं ।’






