
१८ वैशाख, धनगढी। कैलाली प्रहरीले धनगढीका विभिन्न होटलहरूमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ। होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ।
डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराइरहेको भन्ने सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको छ। सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको र अनैतिक कार्य गर्न प्रेरित गरेको अभियोगमा १७ महिला र १३ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिइएको उनले बताए।
प्रहरीले धनगढीको ब्ल्याक स्टोन कटेजबाट सात जना, सम्झना होटलबाट चार जना, ए एम एन्ड ए होटलबाट पाँच जना, प्रिन्स होटलबाट पाँच जना, कर्णाली होटलबाट छ जना र एभरेष्ट होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।






