
नेपाल आर्मीका राजन रोकाय र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनको खुला ३६ किलोमिटर दौडमा उपाधि जितेका छन्। राजनले २ घण्टा ६ मिनेट २३ सेकेण्डमा दूरी पूरा गरे भने सुनमायाले २ घण्टा २७ मिनेट १४ सेकेण्डमा दौड समाप्त गरिन्। १९ वैशाख, काठमाडौं। नेपाल आर्मीका राजन रोकाय र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रन २०८३ को उपाधि जितेका छन्। नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा शनिबार भक्तपुरको चाँगुनारायणमा भएको ट्रेल रनको खुला ३६ किलोमिटर दौडमा पुरुषतर्फ राजन र महिलातर्फ सुनमाया च्याम्पियन बनेका छन्। राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ सेकेण्डमा पूरा गरे। ताप्लेजुङका रमेश लिम्बुले २ घण्टा ७ मिनेट ३० सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे। नेपाल आर्मीका गोलपाल तामाङ तेस्रो भए। उनले २ घण्टा ७ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गरे। नेपाल आर्मीका गजेन्द्र राई चौथो, प्रवल क्षेत्री पाँचौं, राजेन्द्र तामाङ छैठौं, तिलक बहादुर सुनार सातौं, विरेन्द्र पाण्डे आठौं, विशाल नवौं र रिखुलाल सिन्जाली मगर दशौं स्थानमा भए। महिलातर्फ विजेता सुनमाया बुढाले निर्धारित दूरी २ घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गरिन्। सुनसरीकी रोकाया दोस्रो र निर्मला राई तेस्रो स्थानमा रहे। सुनसरीकी खेलाडीले २ घण्टा ४४ मिनेट ५३ सेकेण्डमा तथा निर्मलाले २ घण्टा ४६ मिनेट २९ सेकेण्डमा दौड समाप्त गरे। महिलातर्फ एलिस विसकेफ चौथो, आङ फुर्बा शेर्पा पाँचौं, काब्या रावल छैठौं, सपना गुरुङ सातौं, शासा श्रेष्ठ आठौं, मुना लिम्बु नवौं र शारदा राई दशौं भए। जूनियर यू-२० को ७ किलोमिटर पुरुषतर्फ उत्तम तामाङ २१ मिनेट ०९ सेकेण्डमा पहिलो भए। सुसन लामिछाने दोस्रो र खकेन्द्र शर्मा तेस्रो भए। सुसनले २१ मिनेट १५ सेकेण्ड तथा खकेन्द्रले २१ मिनेट १९ सेकेण्डमा दूरी पूरा गरे। ७ किलोमिटर महिलातर्फ शर्मिला गैरे पहिलो भइन्। उनले २७ मिनेट १९ सेकेण्डमा दूरी पूरा गरिन्। गीता नेपाली दोस्रो र मनिषा तामाङ तेस्रो भए। गीताले २७ मिनेट ४८ सेकेण्ड र मनिषाले २८ मिनेट २८ सेकेण्डमा दूरी पूरा गरिन्। गीताको नतिजा प्राविधिक कारणले स्थगित गरिएको संघले जनाएको छ। खुला ३६ किलोमिटर महिला तथा पुरुषतर्फ विजेताले १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। चौथोले २५ हजार, पाँचौंले १० हजार र छैठौंदेखि दशौं स्थानसम्मका खेलाडीले जनही ३ हजार रुपैयाँ पुरस्कार पाए। यू–२० तर्फ ७ किलोमिटर दौडमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए भने चौथोले ५ हजार, पाँचौंले ३ हजार र छैठौंदेखि दशौं स्थानसम्मका खेलाडीले जनही १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। पुरस्कार रकममा प्रचलित कानुनअनुसार १५ प्रतिशत कर कटौती गरिने आयोजकले उल्लेख गरेका छन्। ३६ किलोमिटर दौड चाँगुनारायण मन्दिरबाट सुरु भई त्रिशुल डाँडा, तेलकोट, श्री पञ्च महालक्ष्मी मन्दिर, कार्तिके भ्यु पोइन्ट, नगरकोट भ्यु टावर, मुहान पोखरी, पानी मुहान र पाइपलाइन रोड हुँदै चाँगुनारायण नगरपालिका पुगेर समापन भएको थियो भने ७ किलोमिटर दौड पनि चाँगुनारायण मन्दिरबाट सुरु भई त्रिशुल डाँडा हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर सम्पन्न भएको थियो। चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले प्रतियोगिताको उद्घाटन गरेका थिए। समापन समारोहमा बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथि थिए भने सचिव दिपेन्द्र सुवेदी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानु चन्द, राखेप बोर्ड सदस्य जगत धामी र सन्त कुमार महतो, फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष सूर्य बुढाथोकी, प्रतियोगिताको प्रायोजक केएफसीका प्रतिनिधि सन्दीप कार्की, १४ पिक आउटडोरका विक्रम कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा र चाँगुनारायण नगरपालिका खेलकुदका रघु केसी लगायतको उपस्थिति थियो।






