
रेडबुल दशैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को उपाधि रुकुम पश्चिम भलिबल क्लब र नेपाल पुलिस क्लबले जितेका छन्। शनिबार भएको फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लबले टिपटप न्यु डायमन्डलाई ३-१ को सेटमा हराउँदै उपाधि रक्षा गरेको छ। पुरुषतर्फ रुकुम पश्चिमले हेल्प नेपाललाई ३-० को सेटमा हराउँदै पहिलो पटक उपाधि जितेको हो। १९ वैशाख, काठमाडौं।
दुवैले लिग चरणमा बेहोरेको हारको बदला फाइनलमा लिएर उपाधिसहित नगद १० लाख रुपैयाँ जितेका छन्। रुकुमले साविक विजेता हेल्प नेपाललाई प्रतिस्पर्धात्मक खेलमा २९-२७, २५-२१, ३२-३० ले हराएर पहिलो पटक एनभीए भलिबल लिगको उपाधि जितेको हो। महिलातर्फ पुलिसले उपाधि रक्षा गर्ने क्रममा न्यु डायमन्डलाई २५-२१, १७-२५, २५-१३, २५-१९ ले हरायो। लिग चरणमा भने न्यु डायमन्डले पुलिसलाई पराजित गरेको थियो।






