Skip to main content

म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउन सफल

म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई ३–२ को हार तर्फ धकेल्दै दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा प्रवेश गरेको छ। इङ्लिस प्रिमियर लिगमा शीर्ष ४ मा पुगेर युनाइटेडले च्याम्पियन्स लिग छनोटमा स्थान सुरक्षित गरेको हो। अन्तरिम प्रशिक्षक माइकल क्यारिकको नेतृत्वमा, युनाइटेडले १४ खेलमा १० जीत, २ हार र २ ड्रबाट उल्लेखनीय प्रदर्शन गरेको छ।

इङ्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा प्रवेश गरेको छ। इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति लिभरपुलसँग भएको रोमाञ्चक प्रतिस्पर्धामा ३–२ को जित हात पार्दै युनाइटेडले शीर्ष ४ को स्थान सुनिश्चित गर्‍यो र च्याम्पियन्स लिग छनोटमा पुगेको घोषणा गर्‍यो। आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले सुरुबाटै आक्रमक खेल प्रदर्शन गर्‍यो।

खेलको छैटौं मिनेटमा माथिउस कुन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने १४औं मिनेटमा बेन्जामिन सेस्कोको गोलले पहिलो हाफ २–० को लाभमा युनाइटेडलाई पुर्‍यायो। यद्यपि, दोस्रो हाफको सुरुमा लिभरपुलले खेललाई फर्काउने प्रयास गर्‍यो। ४७औं मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै स्कोर बराबरीमा ल्याए र ५६औं मिनेटमा कोडी गाक्पोले पनि गोल गर्दै खेललाई २–२ मा पुर्‍याए। तर ७७औं मिनेटमा कोबी माइनुले निर्णायक गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए। हालै पाँच वर्षे सम्झौतामा हस्ताक्षर गरेका माइनुले निर्णायक गोल गरेका हुन् जसले टोलीलाई च्याम्पियन्स लिगमा फर्काइदिएको छ।

पूर्व प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा माइनु हालसम्म आरम्भिक रोजाइमा थिएनन्। यस जितले युनाइटेडलाई सन् २०१५–१६ पछि पहिलोपटक लिभरपुलमाथि लिग डबल पुरा गराएको छ। त्यस्तै, अन्तरिम प्रशिक्षक माइकल क्यारिकले ठूला क्लबहरूलाई लगातार पराजित गरेर स्थायी प्रशिक्षक बन्ने आफ्नो दाबीलाई थप बलियो पारेका छन्। क्यारिकको नेतृत्वमा युनाइटेडले १४ खेलमा १० जीत, २ हार र २ ड्रको परिणाम हासिल गरेको छ।