Skip to main content

बेलायतको दृष्टि सन् २०४० को ओलम्पिक आयोजना तर्फ

बेलायत सरकारले सन् २०४० को दशकमा ओलम्पिक र पारालिम्पिक खेल आयोजनाको सम्भावित प्रस्तावमा छलफल गरिरहेको छ। यसका लागि खर्च, सामाजिक–आर्थिक लाभ र सफलताको सम्भावना जस्ता पक्षहरूको गहिरो अध्ययन गरिने छ। संस्कृति, सञ्चार तथा खेल विभागले बेलायतलाई प्रमुख खेलकुद प्रतिस्पर्धा आयोजना गर्ने गन्तव्य बनाउने लक्ष्य राखेको छ।

साथै सन् २०३० को दशकमा रायडर कप र सोलहाइम कप आयोजना गर्ने सम्भावनाको पनि समीक्षा भइरहेको छ। पहिला सन् २०१२ मा लन्डनमा ओलम्पिक सफलतापूर्वक आयोजना गरिएको थियो। पछिल्ला महिनाहरूमा बेलायतमा फेरि ओलम्पिक आयोजना गर्ने विषयमा चासो बढिरहेको छ। लन्डनका मेयर सादिक खानले सन् २०४० का खेलहरूको लागि शहरले प्रस्ताव दिनुपर्ने सुझाव दिइसक्नुभएको छ।

सन् २०२८ र २०३२ का ओलम्पिक क्रमशः अमेरिका र अस्ट्रेलियामा आयोजना हुने निश्चित भइसकेका छन्, तर त्यसपछि कसले आयोजन गर्ने भन्ने निर्णय अझै तय भएको छैन। केही नेताहरूले भविष्यका प्रस्ताव इङ्ल्यान्डको उत्तरी क्षेत्रमा केन्द्रित हुनुपर्ने सुझाएका छन्। लिभरपुल र म्यानचेस्टरले संयुक्त रूपमा आयोजक बन्ने सम्भावना पनि चर्चामा छ।

सरकारले खेलकुद कार्यक्रमका लागि नयाँ नीतिअनुसार अनुमति बिना टिकट पुनः बिक्रीलाई अपराधको परिभाषामा राख्ने तयारी गरेको छ, जसले गर्दा दर्शकहरूले टिकट वास्तविक मूल्यमा प्राप्त गर्न सकून्। बेलायतले सन् २०२८ मा युरो फुटबल प्रतियोगिता आयोजना गर्दैछ भने सन् २०३५ को महिला विश्वकपको एकमात्र प्रतिस्पर्धी पनि हो।