Skip to main content

अधिकांश मानिसहरू दायाँहाते हुनुको रहस्यमा नयाँ अनुसन्धानका खुलासाहरू

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले मानव पूर्खाहरूले सिधा उभिएर हिँड्न थालेपछि र मस्तिष्कको आकार परिवर्तन भएपछि दायाँहाते हुनुको मुख्य कारण पत्ता लगाएका छन्। ४१ प्रजातिका २ हजार २५ वटा बाँदरहरूको तथ्याङ्क विश्लेषण गरी हातको प्राथमिकता निर्धारण गर्ने कारण अनुसन्धान गरिएको थियो। डा. थोमस ए. पुस्चेलका अनुसार मानिसलाई अन्य जीवभन्दा फरक बनाउने विशेषताको संगै हातको प्राथमिकता पनि सम्बन्धित छ।

मानव विकासको इतिहासमा वैज्ञानिकहरूलाई यती लामो समयदेखि उत्सुक बनाउँदै आएको एउटा ठूलो रहस्यलाई नयाँ अनुसन्धानले खुलासा गरेको छ। संसारका विभिन्न संस्कृतिहरू र भौगोलिक क्षेत्रका करिब ९० प्रतिशत मानिसहरू किन दायाँहाते हुन्छन् र अन्य कुनै बाँदर वा वनमानिस प्रजातिमा यस्तो ठूलो भिन्नता देखिदैन भन्ने रहस्य वैज्ञानिकहरूले खोजेका छन्।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नयाँ अध्ययनले देखाएको छ कि मानव पूर्खाहरूले दुई खुट्टामा सिधा उभिएर हिँड्न थाल्नु र मस्तिष्कको आकारमा तीव्र विकास हुनु नै मानिसहरूमा दायाँ हातको प्रबल प्रयोग हुने प्रमुख कारण हो। प्लोस बायोलोजी जर्नलमा प्रकाशित यस प्रतिवेदनका लागि डा. थोमस ए. पुस्चेल र रेचल एम. हुरविट्स (अक्सफोर्ड) तथा प्राध्यापक क्रिस भेन्डिट्टी (रिडिङ विश्वविद्यालय) नेतृत्वमा गरिएको टोलीले ४१ भिन्न प्रजातिका २ हजार २५ वटा बाँदरहरूको तथ्यांक विश्लेषण गरेका थिए।

वैज्ञानिकहरूले औजारको प्रयोग, खानपान, बासस्थान, सामाजिक संरचना, मस्तिष्कको आकार, हिँडडुलको ढाँचा जस्ता सम्भावित हातको प्राथमिकता निर्धारण गर्ने सबै कारकहरूलाई एउटै गणितीय मोडेलमा राखेर व्यवस्थित परीक्षण गरेका थिए। शुरुमा अन्य जनावरहरूको तुलनामा मानिस मात्र दायाँहातेको अपवाद देखियो। तर मस्तिष्कको आकार र दुई खुट्टाको सिधा हिँड्ने शैली समावेश गर्दा मानिस दायाँहाते हुनु प्राकृतिक विकास प्रक्रिया भित्रको हिस्सा सावित भयो।