
झापाको मेचिनगर नगरपालिका वडा नं. ६ मा बुधबार बिहान गौरी गाईको भाले गौरको एक घरमा छट्पटाउँदै मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका अनुसार गौरको मृत्यु हृदयघातबाट भएको पोष्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले गौरको मृत्यु क्याप्चर मायोप्याथीका कारण भएको हुन सक्ने बताएका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको यो घटनाको भिडियो र गौरको मृत्युको बारेमा धेरैले जिज्ञासा राखेका छन्। मंगलबार साँझ हात्ती गस्ती टोलीले मेचिनगरतिर एक जोडी गौरको रिपोर्ट गरेका थिए। बुधबार बिहान एक घरको आँगनमा गौर छट्पटाइरहेको भिडियोहरू देखिएपछि डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो। घरमा राखिएको सीसीटीभी फुटेजमा गौरले एक व्यक्तिलाई लेखेटिरहेको र अचानक चिप्लिएर लडेको देखिएको छ।
गौर बिहान ६:४० बजे आँगनमा लडेको थियो र करिब डेढ घण्टापछि मरेको थियो। डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकका अनुसार गौरको पोष्टमार्टम गरेर खाडल खनेर गाडिएको छ। उनले भने, “कसैले आक्रमण गरेर वा विषादी खुवाएर वा अन्य कुनै कारणले गौर मरेको देखिएको छैन, हृदयघात भएर मरेको देखिन्छ।”
डा. विजय श्रेष्ठले गौरको मृत्युको अवस्थाको भिडियो हेरेर भनेका छन् कि क्याप्चर मायोप्याथी एक घातक अवस्था हो। जंगली जनावरहरूले अत्यधिक तनाव वा लामो समयसम्म शारीरिक परिश्रमले मांसपेशी र अंगहरूमा गम्भीर क्षति भोग्ने बताउँदै उनले भने, “गौरको हकमा पनि त्यस्तै देखिन्छ।” उनले जंगली जनावरहरूमा क्याप्चर मायोप्याथीको लक्षणहरू र मृत्युको सम्भावनाबारे पनि जानकारी दिएका छन्।

