Skip to main content

स्लोभेनियाका प्रधानमन्त्रीमा पुनः जानेज जान्सा निर्वाचित

स्लोभेनियाको संसद्ले दक्षिणपन्थी राजनीतिज्ञ जानेज जान्सालाई पुनः देशको प्रधानमन्त्रीमा चयन गरेको छ। सन् २०२२ मा सत्ताबाट बाहिरिएका ६७ वर्षीया जान्साको यो पुनरागमनले यस सानो युरोपेली युनियन सदस्य राष्ट्रको राजनीति क्षेत्रमा केही नयाँ परिवर्तनको संकेत गरेको छ, जहाँ पछिल्ला वर्षहरूमा उदारवादी सरकारले शासन गर्दै आएको थियो। ९० सिट रहेको स्लोभेनियाली संसद् मा शुक्रबार भएको मतदानमा जान्साको पक्षमा ५१ र विपक्षमा ३६ मत परेको थियो। नयाँ प्रधानमन्त्री जान्साले आगामी १५ दिनभित्र आफ्नो नयाँ मन्त्रिपरिषदको स्वीकृतिका लागि संसद्मा अर्को मतदानको सामना गर्नुपर्नेछ।

जान्साको नियुक्तिसँगै दुई महिना अघिको आम निर्वाचनपछि देखिएको राजनीतिक गतिरोध अन्ततः समाप्त भएको छ। मार्च २२ मा सम्पन्न चुनावमा पूर्व उदारवादी प्रधानमन्त्री रोबर्ट गोलोबको ‘फ्रीडम मुभमेन्ट’ ले २९ सिट प्राप्त गरेको थियो भने जान्साको पपुलिस्ट ‘स्लोभेनियाली डेमोक्रेटिक पार्टी’ (एसडीएस) ले २८ सिट जितेको थियो। गोलोबले अल्पमतले अग्रता लिन सफल भए पनि सरकार निर्माण गर्न आवश्यक बहुमत जुटाउन नसक्दा संसद् अनिर्णयको अवस्थामा पुगेको थियो। बिहीबार मात्र जान्सा र उनको दल एसडीएसले अन्य मध्यमदेखि दक्षिणपन्थी समूहहरूसँग सहकार्य गर्दै नयाँ सरकार गठनका लागि गठबन्धन सम्झौतामा हस्ताक्षर गरेका थिए। यो नयाँ गठबन्धनसँग संसद्मा जम्मा ४३ सिट छन्।

नयाँ संयुक्त सरकारमा एसडीएस, न्यू स्लोभेनिया, डेमोग्राट्स, स्लोभेनियाली पिपुल्स पार्टी र फोकस दलहरू सामेल छन्। त्यसमाथि दक्षिणपन्थी ‘रेस्निका’ पार्टीले सरकारमा सामेल नभए पनि गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। जानेज जान्सा स्लोभेनियाको प्रधानमन्त्री पदमा चौथोपटक पुगेका छन्। यसअघि उनी सन् २००४–२००८, २०१२–२०१३ र २०२०–२०२२ सम्म देशको नेतृत्व गरिसकेका छन्। संसद्मा सरकारको भावी कार्यसूची प्रस्तुत गर्दै प्रधानमन्त्री जान्साले अर्थतन्त्रको विकास, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीविरुद्ध सङ्घर्ष तथा विकेन्द्रीकरणलाई प्राथमिकता दिने बताएका छन्।

उनले धनी वर्गका लागि कर दर घटाउने र निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। यसै महिनाको सुरूवातमै सञ्चारकर्मीहरूसँगको संवादमा जान्साले नयाँ गठबन्धनले कम लागतमा उच्च गुणस्तरको राज्य व्यवस्था सुनिश्चित गर्ने दाबी गरेका थिए। प्रधानमन्त्री जान्सा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन प्रशंसक हुन्। उनी हंगेरीका पूर्व पपुलिस्ट प्रधानमन्त्री भिक्टर ओर्बानका पनि नजिकका सहयोगी मानिन्छन्, जो गत महिना भएको चुनावमा पराजित भएका थिए। अन्तर्राष्ट्रिय मामिलामा जान्सा इजरायलका कट्टर समर्थक हुन्। पूर्व सरकारले सन् २०२४ मा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने निर्णय गरेकोमा जान्साले कडा आलोचना गरेका थिए।

उनको अघिल्लो कार्यकालमा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने र सञ्चार स्वतन्त्रतामा अङ्कुश लगाउने आरोप लागेका थिए। यसकारण त्यतिबेला स्लोभेनियामा व्यापक जनआन्दोलन भएका थिए र युरोपेली युनियनले पनि उनको कदमको गम्भीर समीक्षा गरेको थियो। यस पटक पनि उनको दक्षिणपन्थी र पपुलिस्ट शैलीलाई युरोप र स्लोभेनियाभित्र चासोका साथ निगरानी गरिएको छ।