Skip to main content

बागलुङ चिनाउन ‘मिडिया मेला’ आयोजना हुँदै

८ चैत, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो स्थापना भएको २५औं वर्षको अवसरमा चैत २० र २१ मा ‘बागलुङ मिडिया मेला’ आयोजना गर्न लागेको छ। नेपालमै नमूना कार्यक्रमका रूपमा रहेको यो मिडिया मेलाको तयारीका लागि महासंघले विशेष तत्परता देखाएको छ। मिडिया मेला चैत २० र २१ गते बागलुङ बजारको जोजोलोपा ब्याक्वेट हलमा आयोजना हुनेछ। मेलाको सफलताका लागि अध्यक्ष राम थापाको संयोजनमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरी तयारी थालिएको छ।

बागलुङलाई मिडियाका माध्यमबाट व्यापक रूपमा प्रचारप्रसार गरी समृद्ध बागलुङ निर्माणमा सहयोग पुर्‍याउन र निजी क्षेत्रको लगानी भित्र्याउन यो मेला आयोजना गरिएको हो। विशेष गरी बागलुङका पत्रकारहरू जो देशका विभिन्न मिडियामा क्रियाशील छन्, उनीहरूलाई स्वदेशी विकासमा चासो राख्न, पुनर्मिलन गराउन र निजी क्षेत्र र स्थानीय निकायबीच सम्बन्ध मजबुद पार्नका लागि बागलुङ बजारको ५० वर्षे इतिहास झल्काउने तस्वीर प्रदर्शनीजस्ता गतिविधिहरू गरिने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष थापाले जानकारी दिए।

अध्यक्ष थापाका अनुसार, हाल आर्थिक उपसमितिले काठमाडौं र बागलुङका स्थानीय पालिकासँग मेलामा सहकार्यका लागि बैठक र छलफल गरिरहेको छ। मिडिया मेलामा आठवटा सेसनको प्यानल डिस्कसन हुनेछ भने पुराना सञ्चार सामग्रीहरूको प्रदर्शनी पनि गरिनेछ। पत्रकारिता, सञ्चार माध्यम, पत्रकारहरूको बदलिंदो भूमिका र ग्रामीण पत्रकारिताको महत्त्वलाई उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको छ।

मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री, पत्रकार महासंघका पदाधिकारीहरू र गण्डकी प्रदेशका ११ जिल्ला पत्रकारहरूको पनि उपस्थिति रहनेछ। मेलामा विद्वतापूर्ण प्रवचन, प्यानल डिस्कसन, बागलुङका पत्रकारहरूको पुनर्मिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, तस्वीर प्रदर्शनी, लाइभ पेन्टिङ, सञ्चार सामग्री र उपकरणहरूको प्रदर्शनी समावेश गरिएको छ। शाखाका कोषाध्यक्ष खेमराज गौतमका अनुसार मेलामा १७ लाख रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ।

मेलामा आन्तरिक पर्यटकहरूलाई भित्र्याएर उनीहरूलाई बागलुङका सञ्चार माध्यम, पुस्तकालय तथा धार्मिक र पर्यटकीय स्थलहरूको भ्रमण गराउने लक्ष्य पनि रहेको शाखाका सचिव नारायण रिजालले जानकारी दिए। मेला प्रर्वद्धनमा सहयोगी निजी क्षेत्रका व्यावसायिक स्टलहरू पनि रहनेछन्। मेलामा राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरू रहने छन्। शाखाका उपाध्यक्ष सुवास आचार्यका अनुसार करिब २५ हजार जनाले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ। मिडिया मेलाको उद्घाटन चैत २० गते हुने छ।