
दक्षिणी इजरेलको सानो नगर अरदमा शनिबार इरानी क्षेप्यास्त्र आक्रमण भएको छ। हवाई सुरक्षा प्रणाली उक्त प्रहारलाई रोक्न असफल भएको छ। इजरेली आपतकालीन सेवाले आक्रमणपछि ८८ जनालाई अस्पताल पुर्याएको जनाएको छ, जसमा १० जना गम्भीर घाइते भएका छन्। साथै, दक्षिणी सहर डिमोनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्। यो क्षेत्र अघोषित परमाणु हतियार केन्द्रबाट करिब १३ किलोमिटर टाढा छ र आक्रमणले त्यही केन्द्रलाई लक्षित गरेको देखिन्छ।
इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस घटनालाई लिएर राष्ट्रका लागि “निकै कठिन साँझ” भएको बताएका छन्। इन्टरनेशनल एटोमिक एनर्जी एजेन्सी (आईएईए) ले आक्रमणले कुनै क्षति पुगेको बारेमा आफूलाई थाहा नभएको बताएका छन्। तर आईएईएका महानिर्देशकले “विशेष गरी परमाणु क्षेत्र वरिपरि कडा सैन्य नियन्त्रण” आवश्यक रहेको चेतावनी दिएका छन्। नेगेभ मरुभूमिमा अवस्थित शिमोन पेरेश नेगेभ न्यूक्लियर रिसर्च सेन्टरलाई “डिमोना रियाक्टर” भनेर चिनिन्छ। यसलाई इजरेलको अघोषित परमाणु हतियार भण्डार मानिन्छ।
इजरेली प्रधानमन्त्री नेतन्याहूले सम्पूर्ण मोर्चामा आफ्नो दुश्मनहरू विरुद्ध निरन्तर आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। इजरायली फौज (आईडीएफ) ले इरानी नतान्ज परमाणु स्थलमा आक्रमण पश्चात तेहरानमा नयाँ आक्रमण शृङ्खला सुरु गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइएको धम्कीयुक्त ४८ घण्टे समयसीमापछि इरानले यस्तो चेतावनी दिएको हो। इरानले “अब युद्ध नयाँ चरणमा छ” भनेको छ।






