Skip to main content

‘नेपाललाई हवाई कालोसूचीबाट हटाउन पर्याप्त प्रगति हुन सकेन’

नेपालका लागि युरोपेली संघ (ईयू)की राजदूत भेरोनिक लोरेन्जोले नेपालको उड्डयन क्षेत्रमा विश्वास पुनःस्थापना गर्नु नेपाल र ईयू दुवैको साझा उद्देश्य भएको बताउनुभएको छ। उहाँले नेपाललाई ईयूको एयर सेफ्टी सूचीबाट हटाउन उड्डयन सुरक्षासम्बन्धी सुधारमा ठोस प्रगति आवश्यक रहेको उल्लेख गर्नुभयो। १२ जेठ, काठमाडौं।

मे २६ मा नेपाल भ्रमणमा रहेका ईयू सदस्य राष्ट्रका मिसन प्रमुखहरूसँग आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजदूत लोरेन्जोले नेपालको नयाँ सरकारले एयर सेफ्टी सूचीको विषयलाई गम्भीरतापूर्वक उठाइरहेको बताउनुभयो। ‘नयाँ सरकार आएपछि एयर सेफ्टी सूचीबारे मलाई यति धेरै पटक प्रश्न गरिएको मैले पहिले अनुभव गरेकी थिइनँ,’ उहाँले भन्नुभयो, ‘हरेक मन्त्रीले, हरेक बैठकमा यो विषय उठाउँछन्। यसले प्रगतिको संकेत गर्छ।’

सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीहरूलाई युरोपेली आकाशमा उडान गर्न प्रतिबन्ध लगाइएको छ। लोरेन्जोले समस्या विमानको उत्पत्तिभन्दा पनि समग्र सुरक्षा निगरानी प्रणालीसँग सम्बन्धित रहेको स्पष्ट पार्नुभयो। उहाँले भने, ‘तर विमान युरोपेली मापदण्डमा बनेकै कारण वा पाइलटले युरोपमा तालिम लिएकै भरमा नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सहरूले सबै सुरक्षा मापदण्ड पालना गरेका छन् भन्ने हुँदैन।’

सन् २०२३ मा गरिएको मूल्यांकनमा नेपालले एयर सेफ्टी सूचीबाट हट्न आवश्यक प्रगति गर्न नसकेको निष्कर्ष निकालिएको थियो। लोरेन्जोका अनुसार पछिल्ला साढे दुई वर्षमा यस कार्ययोजनामा निकै कम प्रगति भएको छ। उहाँले भने, ‘अब त्यसैमा काम गर्न आवश्यक छ।’ उहाँले सुधार केवल पाइलट लाइसेन्ससँग मात्र नभई निरन्तर तालिम, प्रमाणीकरण प्रणाली र नागरिक उड्डयनको निगरानी संयन्त्रसँग पनि जोडिएको बताउनुभयो।

लोरेन्जोले नेपालमाथिको प्रतिबन्ध जारी रहनु ईयूका लागि पनि सुखद कुरा नभएको उल्लेख गर्दै नेपालको उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापना आवश्यक रहेको बताउनुभयो। ‘यो अवस्था हामीलाई पनि मन पर्ने अवस्था होइन,’ उहाँले भन्नुभयो, ‘नेपालको उड्डयन क्षेत्रमा विश्वास पुनर्स्थापना गर्नु हाम्रो साझा लक्ष्य हो। पर्यटन विकासका लागि यो अत्यन्त महत्वपूर्ण छ।’