Skip to main content

कुवेतमा ट्रान्जिटमा अलपत्र परेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ प्रस्थान

समाचार सारांश

समीक्षा गरिएको सूचना।

  • कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा अलपत्र परेका ३३ नेपालीहरूलाई साउदी अरेबिया हुँदै गन्तव्यतर्फ पठाइएको छ।
  • कुवेतस्थित नेपाली दूतावासले स्थलमार्गबाट साउदी पठाउने व्यवस्था मिलाएको छ।
  • कुवेत र कतारको हवाई सेवा प्रभावित हुँदा ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई साउदी भिसा लिएर स्थलमार्गबाट पठाउने प्रक्रिया जारी छ।

८ चैत, काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली दूतावासको पहलमा ती नेपालीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो ।

हवाई उडान अवरुद्ध भएपछि कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ ।

साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरी यात्रुहरूलाई गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको हो ।

यसअघि पनि कुवेत ट्रान्जिटमा फसेका ६९ जना नेपालीलाई रियादस्थित नेपाली दूतावाससँगको सहकार्यमा स्थलमार्ग हुँदै पठाइएको थियो ।

कुवेत र कतार दुवै देशको हवाई सेवा प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई पहिलो चरणमा स्थलमार्गबाट साउदी पुर्‍याउने र त्यसपछि हवाई मार्गबाट अन्तिम गन्तव्यमा पठाउने प्रक्रिया सञ्चालनमा छ ।

यस प्रयोजनका लागि कुवेत र कतारमा रहेका नेपालीहरूलाई ट्रान्जिटका लागि साउदी भिसा लिन आग्रह गरिएको थियो । प्रभावित यात्रुहरूले सोही अनुरूप अनलाइनमार्फत भिसा आवेदन दिएका थिए र भिसा प्राप्त गरेपछि दूतावासको सहजिकरणमा उनीहरूलाई साउदी पठाउने कार्य भइरहेको छ ।