Skip to main content

लाउडा प्रकरणविरुद्धको आन्दोलनका घाइतेहरू अझै क्षतिपूर्ति पाउन सकेका छैनन्

१४ जेठ, खोटाङ । लाउडा विमान खरिद प्रकरणको विरोधमा २५ वर्षअघि खोटाङमा भएको गोली प्रकरणका घाइतेहरूले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्। लाउडा विमान खरिद प्रकरणविरुद्ध २०५८ जेठ १३ गते दिक्तेलमा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका थिए। ती घाइतेहरूले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्। आन्दोलनका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दीपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दीपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनि तामाङ र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राई घाइते भएका थिए।

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका चार जनालाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति दिन राष्ट्रिय मानवअधिकार आयोगले २०७९ वैशाख ८ गते निर्णय गर्दै २०७९ जेठ १७ गते नेपाल सरकारलाई सिफारिस गरेको थियो। सिफारिस भएको चार वर्ष बित्दा पनि घाइतेहरूले राज्यबाट क्षतिपूर्ति पाउन सकेको छैन भनी पीडित रिजालले गुनासो गरेका छन्। घटना भएका महिनै उनीहरूले गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्न र क्षतिपूर्ति दिन माग गर्दै आयोगमा उजुरी दिएका थिए।

त्यतिबेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अनियमित रूपमा लाउडा विमान खरिद गर्ने निर्णय गरेपछि त्यसविरुद्ध ६ वाम घटकहरूले आन्दोलन गरेका थिए। सो क्रममा खोटाङमा एमाले र जनमोर्चाले विरोध स्वरूप मसाल जुलुस प्रदर्शन गरेका थिए। त्यही क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाइते भएका थिए। घाइतेमध्ये प्रतापको २०६२ माघ २८ गते मृत्यु भइसकेको छ। लाउडा प्रकरणको २५ वर्ष पुगेको अवसरमा बुधबार दिक्तेलमा अन्तर्क्रिया र घाइतेका परिवारबीच पुनर्मिलन कार्यक्रम गरिएको थियो। होटल शुभदिन परिवारले आयोजना गरेको कार्यक्रममा चारै जना घाइते परिवार, प्रत्यक्षदर्शी र नेताहरूलाई काठमाण्डौंमा भेला गरेर अन्तर्क्रिया गरिएको थियो।

लाउडा विमान खरिद प्रकरणमा करोडौँ भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको थियो। मसाल जुलुस प्रदर्शनका क्रममा दीपेन्द्रका दुवै खुट्टा र हात, दीपनारायणको बायाँ खुट्टा, विद्यामनिको बायाँ खुट्टा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो। गोली लाग्दा दीपेन्द्रका खुट्टामा ठूलो चोट लागेको थियो। अहिले पनि उनको खुट्टामा गोलीको गहिरो घाउ देख्न सकिन्छ। घटनाका बेला विद्यार्थी राजनीतिमा संलग्न दीपनारायण र दीपेन्द्र अहिले पनि राजनीतिमा सक्रिय छन्। त्यतिबेला ११ वर्षीया विद्यमनि कक्षा ६ मा र ८ वर्षका प्रताप युकेजीमा अध्ययनरत थिए। लाउडा प्रकरणको आन्दोलनमा गोली चलाइएको घटनालाई जिल्लामा दिक्तेल गोली काण्डको रूपमा चिनिन्छ।

क्याप्सन: लाउडा प्रकरणमा घाइते भएका दीपनारायण रिजाल (दायाँ) र दीपेन्द्र राई परिवारसहित।