
महोत्तरीको गौशाला नगरपालिका–१२ पडरियामा आज इनार खन्ने क्रममा निस्सासिएर सर्लाहीका २२ वर्षीय मजदुर वसन्तकुमार महतोको मृत्यु भएको छ। जमीनमुनि करिब ३६ फिट तल काठको ठूटो काट्न छिरेका महतोको निस्सासिएर बेहोस भएपछि अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। १७ जेठ, जलेश्वर (महोत्तरी)।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ पडरिया गाउँमा आज इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
जमिनको सतहदेखि करिब ३६ फिट तल काठको ठूटो काट्नका लागि इनारभित्र पस्दा उनको निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोलेले बताए। इनारभित्र निस्सासिएर बेहोस भएका महतोलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबासमा पुर्याएका थिए, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।






