फिफा विश्वकप २०२६ कुन-कुन देशमा हुँदैछ? आयोजक राष्ट्र, शहर र रंगशालाको पूर्ण जानकारी

फिफा विश्वकप २०२६ इतिहासमा पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडामा ४८ टोलीको सहभागितामा कुल १०४ खेलसहित आयोजना हुँदैछ। प्रतियोगिताका कुल खेलहरूमध्ये अमेरिकाका ११ रंगशालामा सबैभन्दा बढी ७८ खेल हुनेछन् भने फाइनल खेल न्यू जर्सीस्थित रंगशालामा खेलाइनेछ। मेक्सिको र क्यानडामा समान १३–१३ खेल हुनेछन् भने मेक्सिकोको एस्टाडियो एज्टेका तीनवटा विश्वकप आयोजना गर्ने पहिलो रंगशाला बन्नेछ। १७ जेठ, काठमाडौं।
फिफा विश्वकप २०२६ इतिहासमा पहिलो पटक तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना गरिँदैछ। उत्तर अमेरिकी महादेशको अमेरिका, मेक्सिको र क्यानडामा ११ जुन देखि १९ जुलाईसम्म आयोजना हुने २३औं संस्करणको विश्वकपमा ४८ टोली सहभागी छन् र कुल १०४ खेल हुनेछन्। अहिलेसम्मकै ठूलो विश्वकपमा पहिलो पटक सहभागि टोली संख्या बढाएर ४८ पुर्याइएको छ भने अहिलेसम्मकै सबैभन्दा धेरै खेल हुनेछ। विश्वकपका खेलहरू उत्तर अमेरिकाका तीन राष्ट्रको १६ वटा शहरका १६ वटा विभिन्न रंगशालाहरूमा सञ्चालन हुनेछन्।
आयोजक राष्ट्रहरू, शहरहरू र रंगशालाहरूको पूर्ण विवरण यस प्रकार छ। १. संयुक्त राज्य अमेरिका फिफा विश्वकप २०२६ को मुख्य केन्द्र भने अमेरिका हो। किनभने १६ मध्ये अमेरिकाका सबैभन्दा बढी ११ वटा शहरका ११ वटा रंगशालामा खेल आयोजना हुनेछन्। फाइनल खेल पनि अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ। अमेरिकाको एटलान्टा स्टेडियम, बोस्टन स्टेडियम, डालास स्टेडियम, ह्युस्टन स्टेडियम, क्यान्सस सिटी स्टेडियम, लस एन्जलस स्टेडियम, मियामी स्टेडियम, न्यूयोर्क–न्यु जर्सी स्टेडियम, फिलाडेल्फिया स्टेडियम, सान फ्रान्सिस्को बे एरिया स्टेडियम, सियाटल स्टेडियममा खेल हुनेछन्।
२. मेक्सिको अमेरिकापछि मेक्सिकोका ३ वटा शहरका ३ वटा रंगशालामा फिफा विश्वकप २०२६ का खेलहरू हुने छन्। मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो अज्टेका’मा यस विश्वकपको उद्घाटन खेल हुनेछ, जहाँ आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यसबाहेक मेक्सिकोको मोन्टेरे र ग्वाडालाहारा शहरमा पनि खेलहरू आयोजना हुनेछन्। ३. क्यानडा पहिलो पटक विश्वकप आयोजकको रुपमा रहेको क्यानडाका २ वटा शहरका २ वटा रंगशालामा विश्वकपका खेलहरू खेलाइने छन्। क्यानडाले सहआयोजकको रूपमा पहिलो पटक पुरुष फिफा विश्वकप आयोजना गर्न लागिरहेको हो। क्यानडाको भ्यानकुवरस्थित बीसी प्लेस र टोरन्टोस्थित बीएमओ फिल्डमा विश्वकपका खेलहरू हुनेछन्।






