Skip to main content

गर्मीको प्रभाव बढ्दै, तराई मधेशमा तातो दिनहरूको सम्भावना

१९ जेठ, काठमाडौं । वर्षाका कारण केही दिनसम्म शीतल महसुस गरेका मानिसहरूले अब फेरि गर्मीको सामना गर्नुपर्ने भएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिन पानी पर्ने सम्भावना कम भएकाले गर्मी बढ्न सक्छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार मनसुन प्रवेश हुन अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर देखिएकाले आगामी एक हप्तामा गर्मी बढ्ने छ। गर्मीको अधिक प्रभाव तराई मधेशका जिल्लामा देखापर्नेछ। उनले भने, ‘आउँदो एक हप्ता सजिलो छैन। अब एक सातामा गर्मी बढ्दै जाने देखिन्छ। तराई पुनः पाक्ने भएको छ।’

मनसुनी बादल सोमबार दिउँसो भारतको पश्चिमी घाट र केरलामा पुगे पनि बादलको घनत्व र गति दुवै कमजोर भएको हुँदा यो प्रणाली नेपालसम्म आइपुग्न केही दिन लाग्ने अनुमान उनले गरे। उनले सुरुवाती मनसुन निकै कमजोर हुने सम्भावनासमेत व्यक्त गरे। अघिल्ला दिनहरूमा विभिन्न प्रणालीले मौसममा परिवर्तन ल्याएपछि पछिल्ला तीन दिन थोरै ठाँउमा वर्षा भएको थियो। वर्षाकै कारण तापक्रममा कमी आएपछि शीतल महसुस भएको थियो। तर आगामी दिनहरूमा तापक्रम क्रमशः बढ्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेश प्रदेश साथै कोशी प्रदेशका तराई क्षेत्रहरूमा तातो दिनहरूको सम्भावना छ। विभागका अनुसार विगत तीन दिनको अभिलेख अनुसार नेपालमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि छैन। तर आजदेखि वर्षा कम भएपछि तापक्रम पुनः बढ्ने सम्भावना रहेको र तराईका केही क्षेत्रमा तातो लहर बढ्नसक्ने आशंका मौसमविद्हरूले गरेका छन्। मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनहरू पर्ने सम्भावना रहेको विभागले सोमबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ।