
आगामी फुटबल विश्वकपमा मेक्सिकोका गिल्बर्टो मोरा र ब्राजिलका एन्ड्रिकसहित पाँच युवा खेलाडीमाथि सबैको विशेष नजर रहनेछ। मेक्सिकोका १७ वर्षीय मिडफिल्डर गिल्बर्टो मोरा आफ्नो देशबाट विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्न सक्ने सम्भावना छ। ब्राजिलका १९ वर्षीय फरवार्ड एन्ड्रिक प्रशिक्षक कार्लो एन्सेलोटीको विश्वकप टोलीमा समावेश भई नेयमारसँगै मैदानमा देखिनेछन्। फुटबल विश्वकप युवा प्रतिभाहरु उदाउने सबैभन्दा ठूलो मञ्च मानिन्छ। पेले १७ वर्षको उमेरमा ब्राजिललाई १९५८ को विश्वकप जिताउनुको साथै किलियन एम्बाप्पेले २०१८ मा १९ वर्षको उमेरमा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
पहिले नै युरोपेली फुटबलमा स्थापित भएका लामिन यामल, पाउ कुबार्सी र जर्मनीका लेनार्ट कार्ल जस्ता खेलाडीमाथि धेरैको नजर रहनेछ। यद्यपि केही नयाँ अनुहारले पनि विश्वकपमा ठूलो प्रभाव पार्न सक्छन्। गिल्बर्टो मोरा (मेक्सिको) गिल्बर्टो मेक्सिकन फुटबलका सबैभन्दा आशालाग्दा प्रतिभामध्ये एक हुन्। १७ वर्षीय मिडफिल्डर विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरका मेक्सिकन खेलाडी बन्न सक्ने सम्भावना छ। टिजुआनाबाट खेलिरहेका मोराले १५ वर्षकै उमेरमा मेक्सिकोको शीर्ष डिभिजनमा गोल गर्ने कीर्तिमान बनाएका थिए। १६ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनीमाथि रियल मड्रिड, बार्सिलोना लगायत ठूला क्लबको नजर छ।
यान डियोमान्डे (आइभरी कोस्ट) १९ वर्षीय विङ्गर यानले जर्मन क्लब आरबी लाइपजिगबाट उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप टोलीमा स्थान पाएका छन्। बाल्यकालमा अमेरिकामा हुर्किएका डियोमान्डेले फ्लोरिडामा विद्यालय स्तरको फुटबल खेलेका थिए। पछि स्पेनको लेगानेस हुँदै उनले लाइपजिगमा स्थान बनाएका हुन्। गत वर्ष राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनी आइभरी कोस्टका भविष्यका स्टार मानिन्छन्। एन्ड्रिक (ब्राजिल) एन्ड्रिकलाई ब्राजिलको अर्को ठूलो स्टारका रूपमा हेरिन्छ। १९ वर्षीय फरवार्डले ब्राजिलको पाल्मिरासबाट चम्किएपछि रियल मड्रिड पुगेका थिए। रियल मड्रिडमा अपेक्षित अवसर नपाउँदा लोनमा फ्रान्सेली क्लब लियोन पुगेका एन्ड्रिकले उत्कृष्ट सिजन बिताएका छन्। त्यसैले नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीले उनलाई विश्वकप टोलीमा समावेश गरेका छन्। उनी नेयमार, भिनिसियस जुनियर र राफिन्हासँगै ब्राजिलको आक्रमणमा देखिनेछन्।
इब्राहिम म्बाये (सेनेगल) १८ वर्षीय इब्राहिमले यस वर्षको अफ्रिका कप अफ नेसन्समा गोल गर्दै प्रतियोगिताको इतिहासमा सबैभन्दा कान्छा सेनेगाली गोलकर्ता बनेका छन्। पीएसजीको एकेडेमीबाट हुर्किएका उनले १६ वर्षको उमेरमा फ्रेन्च लिगमा डेब्यु गरेका थिए। उनले पछिल्लो सिजन च्याम्पियन्स लिगसहित विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् र आफ्नो क्षमता प्रमाणित गरेका छन्। केन्ड्री पाएज (इक्वेडर) केन्ड्री १९ वर्षको उमेरमै इक्वेडरको राष्ट्रिय टोलिका नियमित सदस्य बनिसकेका छन्। चेल्सीले २०२३ मै उनको सम्झौता गरेको थियो। त्यसपछि उनी फ्रान्सको स्ट्रासबर्ग र हाल अर्जेन्टिनाको रिभर प्लेट क्लबमा ऋणमा खेलिरहेका छन्। उनका उत्कृष्ट ड्रिब्लिङ र तीव्र गतिका कारण चर्चित पाएजले विश्वकपमा राम्रो प्रदर्शन गरेमा युरोपको शीर्ष फुटबलमा पुन: फर्किन सक्छन्। विश्वकपले नयाँ स्टार जन्माउने इतिहास बोकेको छ। यस पटक पनि मोरा, डियोमान्डे, एन्ड्रिक, म्बाये र पाएजमध्ये कुनै एक खेलाडीले विश्व फुटबलमा आफ्नो नाम चम्काउन सक्छ। उनीहरूको प्रदर्शनले आगामी दशकको फुटबलको दिशा निर्धारण गर्न सक्छ।






