Skip to main content

नेपाल निर्वाचन २०८२: रास्वपालाई भारत, चीन र अमेरिकासँग सम्बन्ध अघि बढाउन चुनौतीहरू

राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुखले आफ्नो दलले सरकारको नेतृत्व गरेपछि विदेश नीतिमा तत्काल ठूलो परिवर्तन नहुने बताएका छन्। उनले नेपालले असंलग्नताको नीतिलाई कायम राख्ने बताएका छन्। अघिल्लो साता सम्पन्न प्रतिनिधिसभामा उक्त दलले प्रत्यक्ष र समानुपातिक प्रणालीमा झन्डै दुईतिहाइ बहुमतको नजिक पुग्ने देखिएको छ। रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका बालेन्द्र शाहले चुनावी अभियानका क्रममा विदेश मामिलाका प्राथमिकताबारे खासै चर्चा गरेका छैनन्। तर, रास्वपाले आफ्नो चुनावी वाचापत्रमा ‘सन्तुलित र गतिशील कुटनीति अवलम्बन’ गर्ने प्रतिबद्धता जनाएको थियो।

नेपालको भूराजनीतिक मामिलाबारेका टिप्पणी गर्ने एक लेखकले विगतका पुराना नेताहरू विस्थापित भएसँगै नयाँ सरकारलाई कूटनीतिक सम्बन्ध सञ्चालन गर्ने अवसर प्राप्त हुने बताएका छन्। रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले असंलग्न परराष्ट्र नीतिलाई नेपालको संविधानले अङ्गीकार गरेको भन्दै त्यसैको आधारमा आफ्नो दलको नेतृत्वमा बन्ने सरकार अघि बढ्ने बताए। उनले भने, “असंलग्न परराष्ट्र नीति, नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमसत्ताबारे संविधानमा नै उल्लेख छ।”

भारत र चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै खनालले भने, “भारत हाम्रो असाध्यै महत्त्वपूर्ण छिमेकी देश हो।” उनले दुवै छिमेकीसँग आपसी सम्मानका आधारमा र नेपालको आर्थिक हितलाई अघि बढाउने गरी सम्बन्ध बनाउने कुरा गरे। नेपालमा संयुक्त राज्य अमेरिकाको चासो पनि बढेको देखिन्छ। सन् २०१७ मा अमेरिकाले नेपाललाई ५०० मिलियन डलर बराबरको ‘मिलेनिअम च्यालेन्ज कम्प्याक्ट’ (एमसीसी) अनुदान दिएको थियो। रास्वपाले नेपालको विकासमा सहयोग गरिरहेको एक महत्त्वपूर्ण मित्रराष्ट्रको रूपमा संयुक्त राज्य अमेरिकालाई लिएको छ।

बालेन्द्र शाहले चुनावमा सानदार जिततर्फ उन्मुख भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका थिए। सामाजिक सञ्जालमा शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै पक्षले सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्। भूराजनीतिक मामिलामा दक्खल राख्ने लेखक सुधीर शर्मा नयाँ शिराबाट विदेश सम्बन्ध अघि बढाउने अवसरको बारेमा बताएका छन्। उनले भने, “नेपालमा नयाँ नेतृत्व आएको र छरछिमेकमा पनि नयाँ नेतृत्व आइरहेका कारणले नयाँ शिराबाट सम्बन्ध अघि बढाउने अवसर हुन्छ।”