Skip to main content

सेल्फ डिफेन्स प्रतियोगिता सम्पन्न

नेपाल सेल्फ डिफेन्स मार्शल आट्र्स संघद्वारा आयोजित तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सम्पन्न प्रतियोगिता काठमाडौंमा आयोजना गरिएको थियो। करिब १२० जना विभिन्न उमेर समूहका खेलाडीहरूले यस प्रतियोगितामा भाग लिएका थिए र विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो। समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्की पूर्व सदस्य सुवर्ण श्रेष्ठले आत्मरक्षा सीप समाजमा आत्मविश्वास, अनुशासन र सुरक्षाका लागि आवश्यक रहेको बताउनु भयो। २४ जेठ, काठमाडौं।

आइतबार सम्पन्न भएको यस प्रतियोगितामा आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि, महिला तथा युवाहरूको सशक्तीकरण, खेलकुदको विकास र सामाजिक सुरक्षाको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको थियो। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीको प्रमुख आतिथ्यतामा गरिएको थियो भने समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान कार्यकारी समिति सदस्य सुवर्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। प्रतियोगिता विभिन्न विधामा सञ्चालन गरिएको थियो।

सिनियर पुरुष (व्यक्तिगत)तर्फ आरम्भ रोकाया प्रथम, विनित थापा द्वितीय र धुर्व साह तृतीय भए। सिनियर महिला (व्यक्तिगत)तर्फ रिमा कुमारी चौधरी प्रथम, पूजा सार्की द्वितीय र जयन्ती साह तृतीय स्थानमा रहेकी छन्। जुनियर पुरुष (व्यक्तिगत)तर्फ अनमोल तामाङ प्रथम, क्रेशन साउद द्वितीय र आरभ दुलाल तृतीय भए भने जुनियर महिला (व्यक्तिगत)तर्फ आशिका कार्की प्रथम, सुष्मा कार्की द्वितीय र रोस्मिता भण्डारी तृतीय बन्न सफल भएकी छन्।

खुल्ला महिला तर्फ ओसिन राई प्रथम, निष्ठा तिमिल्सिना द्वितीय र पायल माझी तृतीय भए। खुल्ला पुरुषतर्फ प्रसन कुँवर प्रथम, मुकेश राया द्वितीय र धुर्व साह तृतीय स्थानमा रहे। हरेक विधाका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त खेलाडीहरूलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. १,५०० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। समापन समारोहमा प्रमुख अतिथि सुवर्ण श्रेष्ठले यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै युवाहरूमा आत्मविश्वास, अनुशासन र सुरक्षा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नेपाल सेल्फ डिफेन्स मार्शल आट्र्स संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।