
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा ५ लाख रुपैयाँबाट वृद्धि गरी १० लाख रुपैयाँसम्म पुर्याएको छ। लघु, साना तथा मझौला व्यवसायीहरूले दीर्घकालीन चालु पुँजी कर्जाका रूपमा विद्युतीय माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा पाउन सक्नेछन्। तलबी खाता भएका प्राकृतिक व्यक्तिले ५ लाख र अन्य व्यक्तिले अधिकतम २ लाख रुपैयाँसम्म यस्तो कर्जा पाउन सक्ने व्यवस्था छ। २५ जेठ, काठमाडौं। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट पाइने कर्जाको सीमा बढाएको छ। केन्द्रीय बैंकले विद्युतीय माध्यामबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ मा संशोधन गर्दै ५ लाख रुपैयाँको सीमालाई १० लाखसम्म पुर्याएको हो।
केन्द्रीय बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित कर्जा प्रवाह गर्न सहजीकरण गर्ने व्यवस्था थप गरेको छ। यसका माध्यमबाट साना तथा मझौला व्यवसायीले विद्युतीय माध्यामबाट १० लाखसम्मको कर्जा सहज रूपमा लिन सक्छन्। बैंक, भुक्तानी सेवा प्रदायक र मर्चेन्टहरूको मुख्य भूमिका रहने व्यवस्था मार्गदर्शनमा उल्लेख गरिएको छ।
केन्द्रीय बैंकले विद्युतीय कर्जा प्रदान गर्दा ग्राहकको विद्युतीय माध्यमबाट भएको कारोबार विवरण, भुक्तानीसम्बन्धी जानकारी र व्यवसायसँग सम्बन्धित अन्य विवरणको प्रयोग गरी कर्जा विश्लेषण गर्न प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न सकिने व्यवस्था गरेको छ। जोखिम व्यवस्थापनको जिम्मेवारी बैंक र वित्तीय संस्थाहरूको हुनेछ, जुन संशोधित मार्गदर्शनमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध मर्चेन्टलाई कर्जा सीमाभित्र रही कर्जा प्रदान गर्न सक्नेछन्। मर्चेन्टको सहमतिमा, आवश्यक व्यवसाय र कारोबार सम्बन्धी विवरण भुक्तानी सेवा प्रदायक संस्थाले कर्जा विश्लेषणका लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउन सक्ने व्यवस्था पनि केन्द्रीय बैंकले थप गरेको छ।






