Skip to main content

जेफ्री एप्स्टीन: सन् २०१९ मा पक्राउ हुनु अघि मोरकोमा दरबार किन्ने प्रयास

जेफ्री एप्स्टीन आफ्नो पक्राउको अघिल्लो दिन मात्रै मोरकोमा करोडौँ डलर मूल्य पर्ने एउटा दरबार किन्ने प्रयासमा रहेको अमेरिकी न्याय मन्त्रालयले गत महिना सार्वजनिक गरेका दस्ताबेजहरूमा उल्लेख छ। एप्स्टीनले सन् २०११ बाटै बिन अन्नाकील दरबार किन्ने प्रयास गरेका थिए। तर त्यसका बिक्रेतासँगको मूल्य खरिद सम्झौताबारेको विवाद वर्षौँसम्म लम्बियो। म्यारकेश नगरको पाल्मरेई क्षेत्रमा रहेको यो दरबारलाई १,३०० जना शिल्पकारले भित्तामा कुँदेका कलाकृतिका कारण वास्तुकलाको एउटा अद्भुत नमुना मानिन्छ।

एप्स्टीनले आफू पक्राउ पर्ने अघिल्लो दिन एक करोड ४९ लाख अमेरिकी डलर बैना पठाउन हस्ताक्षर गरेका थिए। उक्त दरबारको स्वामित्व रहेको तथा कुल दुई करोड १२ लाख अमेरिकी डलर मूल्य कायम भएको एउटा अफशोर कम्पनी खरिदका लागि उनले सम्झौता गरेका थिए। सार्वजनिक भएका दस्ताबेजअनुसार अमेरिकी अधिकारीहरूले यौन व्यापारको अभियोगमा न्यूयोर्कबाट पक्राउ गर्नुअघि एप्स्टीनको सबैभन्दा पछिल्लो ठूलो आर्थिक कारोबार यही थियो। एप्स्टीन पक्राउ परेको तीन दिनपछि उनका लेखा अधिकृत रिचार्ड कानले बैनाका लागि पठाउन लागिएको पैसा रोकेका थिए र दरबार खरिदको काम रोकिएको थियो।

यद्यपि एप्स्टीनका पूर्वसहयोगीले नाम नखुलाउने सर्तमा बताएअनुसार उनलाई आफू तत्काल पक्राउ पर्न सक्नेबारे “कुनै पूर्वसङ्केत थिएन”। उनीहरूका अनुसार “उनले त्यहाँ आफू राजाजसरी बस्न खोजेका” थिए। सार्वजनिक भएका दस्ताबेजहरूमा एप्स्टीनले अमेरिकी प्रशासनबाट बच्नका लागि आफूले शरण लिने ठाउँका रूपमा उक्त देश उपयुक्त भए वा नभएकोबारे कुनै कुराकानी गरेको भेटिँदैन।

सन् २०००को दशकको प्रारम्भिक वर्षहरूदेखि एप्स्टीनको मोरकोसँग सम्बन्ध नै थियो। उनलाई आरोप लगाउनेमध्येकी एक जना भर्जिनिआ जुफ्रेले आफ्नो संस्मरणमा एप्स्टीनसँग केही विलासी सम्पत्तिहरूको डिजाइन हेर्न मोरकोको एक तटीय सहर पुगेको उल्लेख गरेकी छन्। सन् २०१२पछि एप्स्टीनले मोरकोमा बाक्लै आउजाउ गरेको देखिन्छ। उनी त्यहाँ जाँदा विशिष्ट व्यक्तिहरू बस्ने गरेको पाल्मरेईमा बस्ने गरेका थिए।