उपेन्द्र यादवले कर्णाली प्रदेशस्तरीय जसपा कार्यकर्ता भेलामा पार्टीका प्राथमिकताहरू व्याख्या गरे

२८ जेठ, सुर्खेत। जनता समाजवादी पार्टी (जसपा) नेपालले कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। यस भेलामा पार्टीको सङ्गठनात्मक स्थिति, विगत निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कर्णालीको आर्थिक-सामाजिक रूपान्तरण र पहिचानलाई पार्टीको मुख्य प्राथमिकतामा रहेको बताएका छन्।
उहाँले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई पूर्ण रूपमा सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पीडित वर्ग र पिछडिएको क्षेत्रका अधिकार सुनिश्चित गर्न कार्यकर्ताहरूलाई गाउँ गाउँमै पुगेर सङ्गठन विस्तारमा लागि निर्देशन दिनुभयो। कर्णाली प्रदेश इन्चार्ज बलवीर नेपालीले कर्णाली भौगोलिक रूपमा विकट भए पनि राजनीतिक चेतनाको हिसाबले अग्रणी रहेको चर्चा गर्दै पार्टीका नीति र एजेन्डाहरू जनतासम्म पुर्याउन ठोस कार्ययोजना बनाउनु पर्नेमा जोड दिए।
केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले पार्टीभित्र आन्तरिक एकता, अनुशासन र सक्रियता बढाएर मात्र आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सकिने विचार व्यक्त गर्नुभयो। त्यस्तै, केन्द्रीय सदस्य लिला सिजापतीले सङ्गठनलाई जीवन्त राख्न तल्लो तहका कार्यकर्ता र जनतासँगको संवाद निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। जसपा नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष रगबिर मिजारको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रदेशका विभिन्न जिल्लाबाट आएका अगुवा कार्यकर्ताहरूले स्थानीय तहमै सङ्गठनको स्थिति, चुनौती र आगामी रणनीतिबारे सुझाव दिएका थिए।






