Skip to main content

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

२८ जेठ, खोटाङ। मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङमा पर्ने दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा गएराति खसेको पहिरोले सडक पूरै अवरुद्ध भएको हो। स्थानीय शिक्षक दिलीपचन्द्र राईका अनुसार, जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रभित्र पर्ने लामीडाँडाको ढाँडखर्कबाट आएको पहिरोले सडक अवरुद्ध बनाएको हो।

लेदो माटोसहित पहिरोले तल्लो क्षेत्रका सडक, कुलो लगायतका विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। सडकमा आएको क्षतिको कारण भोजपुरदेखि काठमाडौं आउजाउ गर्ने तथा दिक्तेल, बानाचुङ हुँदै भोजपुरतर्फ जाने पूर्वी शहरले आवतजावत गर्ने सवारीसाधनहरू पनि अवरुद्ध भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्षतिग्रस्त सडक मर्मतका लागि डोजर र स्काभेटरसहित जनशक्ति परिचालन गरेको जानकारी दिएको छ।

सो क्षेत्रमा विगतमा समेत पहिरो आउने क्रम जारी रहेकाले समस्या लगातार भइरहेकै छ। गत जेठ २३ गते बिहान लप्से खोलामा आएको बाढीले सडक बगाउँदा नौ घण्टा सवारी आवतजावत ठप्प भएको थियो। लप्से खोलामा २०७३ सालमै पक्की पुल बन्नुपर्ने योजना थिए तापनि ठेकेदारको ढिलाइका कारण पुल निर्माण कार्य अलपत्र परेको छ। खोलामा पुल नभएकाले वर्षाको समयमा यात्रु, मालवाहक सवारीसाधन, एम्बुलेन्स, मोटरसाइकल तथा पैदल यात्रीहरू पनि लामो समयसम्म रोकिन बाध्य छन्।