
चन्द्रमामा १० वर्षभित्रै एउटा ‘आत्मनिर्भर सहर’ बसाउन सकिन्छ – इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ। एक्स, टेस्ला र स्पेसएक्स कम्पनीका मालिक मस्कले हालै एक्समा एक पोस्ट राख्दै उनको स्पेसएक्स कम्पनीले मङ्गल ग्रहको साटो चन्द्रमामा सहर निर्माण गर्न लागेको उल्लेख गरे। उक्त पोस्टलाई चार करोड पटक हेरियो।
तर मस्कले आफ्नो मन किन परिवर्तन गरे? अनि उनले चन्द्रमामा बसाउने भनेको सहरबारे हामीलाई के थाहा छ? मङ्गलको साटो चन्द्रमामा बसाइने भनिएको सहरबारे कुनै औपचारिक, विस्तृत एवं मार्गचित्रसहितको योजना छैन। मस्कले सामाजिक सञ्जाल एक्समा केवल आफ्नो दृष्टिकोण राखेका छन्। उनले त्यहाँ स्थायी मानवबस्ती बसाउने र भावी दिनमा चन्द्रमातर्फ थुप्रै अभियान सञ्चालन हुने हुँदा क्रमश: चन्द्रमामै उपलब्ध स्रोतहरूको प्रयोग गरेर त्यसको विस्तार हुने भनेका छन्।
आफ्नो पोस्टमा मस्कले उक्त योजना पूरा गर्न “चन्द्रमामा १० वर्षभन्दा कम लाग्ने जब कि मङ्गल ग्रहमा २० वर्षभन्दा धेरै लाग्ने” भनेका छन्। “स्पेसएक्सको अभियानको लक्ष्य उही हो : हामीले बुझेको जीवन तथा चेतनालाई ताराहरूमा विस्तार गर्नु।” मङ्गल ग्रहमा जाने हो भने ग्रहहरूको अवस्था मिलेको समय कुर्नुपर्ने र त्यस्तो समय २६ महिनामा एकपटक बल्ल आउने उनले उल्लेख गरेका छन्। अनि त्यहाँ जानै पनि छ महिना लाग्ने उनले भनेका छन्। जब कि उनी भन्छन्, “हामी हरेक १० दिनमा चन्द्रमातर्फ जान सक्छौँ (अनि यात्रा अवधि दुई दिनको मात्र)।”
“त्यसैले मङ्गल ग्रहमा सहर निर्माण गर्नुभन्दा चन्द्रमामा सहर निर्माण गर्नु निकै छिटो हुने छ।” मङ्गल ग्रहमा सहर विकास गर्नु स्पेसएक्सको लामो समयदेखिको लक्ष्य रहँदै आएको छ र त्यो कायम रहने बताइएको छ। एक्समा लेख्दै मस्कले भने, “आगामी पाँचदेखि सात वर्षमा हामी त्यसको आरम्भ गर्ने छौँ। तर मुख्य प्राथमिकता चाहिँ मानव सभ्यताको भविष्य सुरक्षित पार्नु हो र त्यसका निम्ति चन्द्रमामा काम गर्न छिटो हुन्छ।”





