५ असार, काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ। अमेरिकाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले यो युद्धविरामको खबर प्रकाशित गरेको छ। उक्त सम्झौता स्थानीय समय अनुसार शुक्रबार साँझ ४ बजेबाट लागू हुने जानकारी दिइएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले युद्धविरामको स्थिति बारे एक वक्तव्यमार्फत जानकारी दिएका छन्। ‘हामी अहिले युद्धविरामको अवस्थामा छौँ। आवश्यकता परेमा इजरायल युद्ध जारी राख्न तयार छ,’ उनले भने।
यसअघि बिहीबार रातभर इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानका विभिन्न स्थानमा बमबारी गरेको थियो, जसका कारण दक्षिणी लेबनानमा १८ जनाको मृत्यु भएको थियो। इजरायलले आफ्ना ४ सैनिक पनि यसै क्रममा घाइते भएको दाबी गरेको छ। युद्धको प्रभावले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा असर परेको छ। अमेरिका र इरानबीच युद्ध रोक्न र शान्ति सम्झौता गर्न सहमति भइसकेको थियो। आज स्वीट्जरल्यान्डमा दुई देशबीच औपचारिक वार्ता र सम्झौता गर्ने मिति तय गरिएको थियो। तर, इजरायलले बिहीबार राति लेबनानमा आक्रमण गरेपछि समस्या उत्पन्न भएको हो। अमेरिका र इरानबीचको सम्झौतामा इरानले लेबनानको युद्धलाई पनि समेट्न कडा अडान लिएर बेठिकतालाई बलियो बनाएको छ।

