दक्षिण अफ्रिका पराजित गर्दै क्यानडाले प्रिक्वार्टरफाइनलमा पहिलोपटक प्रवेश गर्यो
लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडाले प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ मा प्रवेश गरेको छ। सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको इन्जुरी समयमा स्टेफन युस्टाकियोले निर्णायक गोल गर्दै क्यानडालाई पहिलोपटक विश्वकपको अन्तिम–१६ मा पुऱ्याएका हुन्।
क्यानडाले अब प्रिक्वार्टरफाइनलमा मोरक्को र नेदरल्यान्ड्सबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको ९० मिनेटसम्म कुनै गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफनले गोल गर्दै क्यानडालाई पहिलोपटक प्रिक्वार्टरफाइनलमा पुऱ्याएका हुन्। खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका अगाडि रहँदै पनि गोल गर्न सकेन।
दक्षिण अफ्रिकाले फिनिसिङमा चुक्यो। निर्णायक गोल गर्ने स्टेफनलाई प्लेयर अफ द म्याच घोषित गरियो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानडाले यसअघिका दुई पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानडाबाट पराजित भएपछि पहिलो पटक दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमायो। क्यानडा समूह ‘बी’ मा दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो भने दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता भएर नकआउट चरणमा प्रवेश गरेको थियो।

