Skip to main content

विश्वकप २०२६: फिफा अध्यक्ष जानी इन्फन्टीनोको जेट यात्रा

विश्व फुटबल महासङ्घ (फिफा)का अध्यक्ष जानी इन्फन्टीनो यस गर्मीयाममा आयोजित विश्वकपमा उत्तर अमेरिकाभर दुई साताभन्दा बढी समयमा २४ खेलमा पुगे। यस क्रममा हजारौँ हवाई माइलको दूरी यात्रा भएको छ। यो प्रतिस्पर्धा अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशमा भइरहेको छ। ती देशका १६ सहरहरूमा विस्तार भएको समूह चरणका कारण पहिलेभन्दा धेरै खेलहरू भएका छन्।

फिफाको सन् २०२६ विश्वकपमा दिगोपन र मानव अधिकार रणनीतिमा अध्यक्षले भनेका थिए: “हामी जलवायु, मानव अधिकार, रोग वा अपाङ्गता जे बारेमा कुरा गरे पनि त्यसमा हामी आफ्नो भूमिका खेल्न प्रतिबद्ध छौँ।” बीबीसी भेरिफाई र बीबीसी स्पोर्टले फिफा र इन्फन्टिनोसँग जोडिएको एउटा निजी जेट ‘ट्र्याक’ गर्दै आएका छन्। यसले प्रतियोगिताका क्रममा २७ उडानहरू ती सहरहरूमा गरेको छ, जहाँ फिफा प्रमुखले खेलहरू हेरेको तस्बिर उपलब्ध छ।

पन्ध्र दिनमा यस जेटबाट अनुमानित जलवायु प्रभाव लगभग एक वर्षभरि औसतमा ७८ जनाको हुने बराबर छ। इन्फन्टिनोले प्रतियोगिताको समूह चरणका बेला कैयौँ पटक दैनिक दुई खेलमा भाग लिएका छन्। उनले केही दिनमा तीनवटा बेग्लाबेग्लै उडान गरेका छन्। यस प्रतियोगिताअघि फिफा अध्यक्षले अर्कै अर्थात् कतार एअरवेज इग्जेक्युटिभ जेट प्रयोग गरेको फोटो खिचिएको छ।

इन्फन्टीनोले गरेको सबैभन्दा लामो उडान ४,५०७ किलोमिटरको थियो। त्यो १३ जुनमा भ्यान्कूभरबाट मायामीसम्मको थियो। उनले केही छोटा यात्रा पनि गरेका छन्। गत २२ जुनमा उनको जेटले फिल्डेल्फियाबाट न्यूजर्सीको टेटेर्बोरो विमानस्थलसम्म १४८ किलोमिटर दूरीको उडान गरेको थियो। इन्फन्टीनो त्यहाँ कुनै खेलमा उपस्थित भएनन्। तर भोलिपल्ट बिहान छिमेकी न्यूयोर्कको फक्स न्यूज स्टुडियोमा उनको अन्तर्वार्ता लिइएको थियो।

फिफा प्रतिनिधिले बीबीसी स्पोर्टलाई भने: “फिफा अध्यक्ष नियमित रूपमा यात्रा गर्छन्। त्यस्ता व्यावसायिक वा प्रतियोगितासँग सम्बन्धित कामका क्रममा उनीसँग सम्बन्धित अधिकारीहरू हुन्छन् र सम्भव भएसम्म फिफा सदस्य सङ्घहरूलाई भेट्न प्रयास गर्छन्।” यस वर्षको प्रतियोगिताका लागि विश्व फुटबलको नियामक निकायले कैयौँ वातावरणीय प्रतिबद्धताहरू गरेको छ।