न्यूयोर्क न्यू जर्सी रंगशालामा हुने उक्त खेल बुधबार बिहान पौने तीन बजेदेखि सुरु हुनेछ। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा साविक उपविजेता फ्रान्स र स्वीडेनबीच न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान पौने ३ बजे खेल हुँदैछ। फ्रान्सले समूह चरणमा सहज जित निकालेर नकआउटमा प्रवेश गरेको छ भने स्वीडेन उत्कृष्ट तेस्रो स्थानमा रहँदै राउन्ड अफ ३२ मा पुगेको हो। विश्वकपमा पहिलोपटक भिड्न लागेका यी दुई टोलीमध्ये विजेताले अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ। १६ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत साविक उपविजेता फ्रान्स र स्वीडेनबीच खेल हुँदैछ। न्यूयोर्क न्यू जर्सी रंगशालामा हुने उक्त खेल बुधबार बिहान पौने तीन बजेबाट सुरु हुनेछ। फ्रान्सले समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ को सहज जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणमा कुल १० गोल गर्दा फ्रान्सले मात्र २ गोल बेहोरेको छ। स्वीडेनको नकआउट यात्रा भने निकै उतारचढावपूर्ण रह्यो। नेदरल्याण्ड्ससँग ५–१ को भारी पराजय ब्यहोरेको स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्यो। तेस्रो खेलमा जापानसँग १–१ को बराबरी खेल्दै उत्कृष्ट तेस्रो स्थानमा रहँदै ४ अंकसहित राउन्ड अफ ३२ मा प्रवेश गरेको हो। समूह चरणको अन्तिम खेल गुमाएका फ्रान्सेली मुख्य प्रशिक्षक डिडिएर देसच्याम्प्स डगआउटमा फर्किएपछि फ्रान्स यस खेलमा बलियो दावेदारको रूपमा मैदानमा उत्रँदैछ। यद्यपि, ग्राहम पोटरको कप्तानीमा रहेको स्वीडेनी टोली खेलको नतिजा उल्ट्याउँदै विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेर गर्ने योजना बनाइरहेको छ। फ्रान्सेली टोलीको मुख्य आधार किलियन एमबाप्पे हुन्। उनले विश्वकप करियरमा १६ गोल गरिसकेका छन्। पछिल्लो खेलमा नर्वे विरुद्ध ह्याट्रिक गरेका उस्मान डेम्बेले पनि फ्रान्सेली आक्रमण एक खेलाडी मात्रमा भर पर्ने छैन भन्ने कुरा प्रमाणित गरिसकेका छन्। यस प्रतियोगितामा मात्र यी दुई फरवार्डले ४–४ गोल गरिसकेका छन्। त्यसैले फ्रान्सको आक्रमणलाई रोक्न जुनसुकै टोलीलाई पनि चुनौतीपूर्ण हुने छ। अर्कोतर्फ स्वीडेनका स्टार सेन्टर ब्याक इसाक हिएन चोटका कारण बाहिर हुँदा त्यसको फाइदा फ्रान्सले लिने देखिन्छ। स्वीडेनको भरोसा फ्रान्सको स्ट्राइकरबाट बल खोसेर काउन्टर अट्याकमा रहनेछ। काउन्टर अट्याक गर्न एन्थोनी एलङ्गा, विक्टर ग्योकेरेस र अलेक्ज्याण्डर इसाकको गतिको फाइदा उठाउनुपर्नेछ। एन्थोनीले आफ्ना पछिल्ला दुई समूह चरणका खेलहरूमा लगातार गोल गरेका छन्। यदि आजको खेलमा पनि उनले गोल गरेमा उनी विश्वकपका लगातार तीन खेलमा गोल गर्ने स्वीडेनको इतिहासकै पाँचौँ खेलाडी बन्नेछन्। यी दुई टोलीको पछिल्ला ५ भेटमा फ्रान्सले निकै बलियो रेकर्ड बनाएको छ, जसमा फ्रान्सले ४ खेल जितेको छ भने स्वीडेनले १ खेल जितेको छ। यी दुई टोलीबीचको पछिल्लो भेट नोभेम्बर २०२० मा युएफा नेसन्स लिगमा भएको थियो, जहाँ फ्रान्स ४–२ ले विजयी भएको थियो। सन् २०१६ र २०१७ का विश्वकप छनोट खेलहरूमा भने दुवै टोलीले आ–आफ्नो घरेलु मैदानमा जित हासिल गरेका थिए। यी दुई टोलीबीच यो २४औं भेट हुनेछ। अघिका २३ भेटमा फ्रान्सले १२, स्वीडेनले ६ खेल जितेका छन् भने ५ खेल बराबरमा सम्पन्न भएका छन्। सन् १९३० को पहिलो विश्वकपदेखि नै फ्रान्स र स्वीडेन विश्वकपको मञ्चमा निरन्तर उपस्थिति जनाउँदै आएका छन्। फ्रान्सले ७६ र स्वीडेनले ५४ वटा विश्वकप खेल खेलेका छन्। २३ पटक आमनेसामने भइसकेका यी दुई टोली विश्वकपमा भने पहिलो पटक एकअर्काको सामना गर्न लागेका छन्। यो खेलको विजेताले अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

