बुधबार राति भएको खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई २-१ ले पराजित गरेपछि मेक्सिकोले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने मौका पाएको छ। १८ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिकोले अन्तिम १६ मा इङ्ल्यान्डसँग खेल्ने भएको छ। इङ्ल्यान्डले डिआर कंगोलाई हराएपछि मेक्सिकोले इङ्ल्यान्डलाई प्रतिद्वन्द्वी पाएको हो।
अहिलेसम्म चार खेल खेल्दा शतप्रतिशत जितसहित क्लिनसिट कायम गरेको मेक्सिको र उतारचढावपूर्ण प्रदर्शन गरेको इङ्ल्यान्डबीचको खेल अत्यन्त रोचक हुने अनुमान छ। उक्त खेल मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा हुनेछ। यसअघि घरेलु मैदानमा खेलिएका चारै खेलमा मेक्सिको विजयी भएको छ। राउण्ड अफ ३२ को पछिल्लो खेलमा मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।
अन्तिम १६ मा इङ्ल्यान्डसँगको खेल मेक्सिकोले यस विश्वकपमा घरेलु मैदानमा खेल्ने अन्तिम खेल हुनेछ। यस खेलमा जित हात पारे मेक्सिकोले हार्ड रक स्टेडियममा ब्राजिल र नर्वेबीचको विजेतासँग खेल्नेछ। मेक्सिकोले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २-० ले, दोस्रो खेलमा दक्षिण कोरियालाई १-० ले, र तेस्रो खेलमा चेक रिपब्लिकलाई ३-० ले पराजित गरेको थियो। अहिलेसम्म मेक्सिकोले ८ गोल गरेका छन् र कुनै गोल बेहोरेको छैन। अर्कोतर्फ, इङ्ल्यान्डले समूह चरणमा क्रोएसियालाई ४-२ ले हराउँदै विश्वकप सुरु गरेको थियो। त्यसपछि घानासँग गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले समूहको अन्तिम खेलमा पानामालाई २-० ले हराएको थियो। फिफा वरियतामा चौथो स्थानमा रहेको इङ्ल्यान्डले राउण्ड अफ ३२ मा तुलनात्मक रूपमा कमजोर डिआर कंगो टोलीसँग प्रतिस्पर्धा गर्यो। कंगो विरुद्ध सातौं मिनेटमै पछि परेको इङ्ल्यान्डले पुनरागमन गर्दै २-१ को जित हात पारेको छ। दुवै गोल कप्तान ह्यारी केनले गरेका थिए।

