Skip to main content

भाइचुङ भुटिया: ‘नेपाली खेलाडीको खेल हेरेरै म फुटबलमा प्रेरित भएको हुँ’

हामीलाई अपेक्षा थियो कि भारतीय फुटबल धेरै माथि जान्छ। तर, पछिल्लो १० वर्षमा हामी उकालो नगएर ओरालो यात्रामा छौं। भारतीय फुटबल टोलीका पूर्व कप्तान र दक्षिण एसियाकै ‘लेजेन्ड’ फुटबलर भाइचुङ भुटिया गत साता नेपाल आएका छन्। विश्वकप फुटबलको विश्लेषण गर्न हिमालय टीभीसँग बतकही गर्दै उनले विश्वकपको बदलिँदो स्वरूप, खेलमा प्रविधिको भूमिका र दक्षिण एसियाली फुटबलको वर्तमान अवस्थाबारे गम्भीर विचार व्यक्त गरेका छन्। सिक्किमको एक विकट गाउँबाट उदयीमान भएका भुटियाले अन्तर्राष्ट्रिय स्तरमा भारतीय फुटबललाई चिनाएको अनुभव साझा गर्दै आफ्नो बाल्यकालको सङ्घर्ष, नेपालसँगको भावनात्मक सम्बन्ध र फुटबलको आधुनिकीकरणका प्रयासबारे खुला चर्चा गरेका छन्। उनले नेपाल र भारतको फुटबल प्रशासनमा देखिएको कमजोरी, एन्फाको प्रतिबन्ध, र ग्रासरुट तहबाटै फुटबल विकास गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

नेपालमा आएपछि कस्तो अनुभव भयो? भाइचुङ भुटियाले भने, “धेरै खुसी लाग्छ। नेपालमा म सानैदेखिकै धेरै पटक फुटबलका लागि आएको छु। मेरो फुटबल जीवनमा धेरै नेपाली खेलाडी र सिनियर खेलाडीहरूसँग गहिरो सम्बन्ध छ।” उनले नेपालमा सकारात्मक परिवर्तन देखिएको र परिवार तथा साथीहरूलाई भेट्दा रमाइलो लाग्ने कुरा पनि उल्लेख गरे। विश्वकपको बारेमा कुरा गर्दै उनले भने, “यो विश्वकप धेरै रंगीन छ। धेरै देश सहभागी छन् र यो विश्वकपले एकता र शान्तिको सन्देश दिएको छ।” उनले नयाँ प्रविधिहरू र नियमहरूको प्रभावकारिता पनि चर्चा गरे।

भाइचुङ भुटियाले फुटबलको विकासका लागि नेपालमा साना खेलमैदान बनाउने र प्रशिक्षकलाई बालबालिकासँग कसरी व्यवहार गर्ने सिप सिकाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “नेपाल र भारतको फुटबल प्रशासनमा अहंकार, स्वार्थ र लोभ देखिन्छ। फुटबल देश र समाजको लागि हो, निजी कम्पनी होइन।” उनले फुटबलको विकासका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्नेमा जोड दिए।